काठमाडौं, ७ वैशाख २०८३ । युनाइटेड अरब इमिरेट्स (यूएई) र नेपालबीचको टी–२० अन्तर्राष्ट्रिय शृखंलाको पहिलो खेल वर्षाका कारण रोकिएको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा नेपाल र यूएईबीच भइरहेको शृखंलाको पहिलो खेलको पहिलो इनिङ वर्षाका कारण बीचैमा रोकिएको हो ।
खेलमा नेपालले आठ विकेट गुमाएर १२२ रन जोडेको छ । क्रिजमा रहेका कप्तान दीपेन्द्र सिंह ऐरिले ३२ रन बनाउँदा सन्दीप लामिछाने दुई रनमा खेलिरहेका छन् ।
त्यसअघि पभेलियन फर्किएका कुशल मल्लले १७ रन बनाए । ओपनर कुशल भुर्तेलले १६ र बसिर अहमदले १४ बनाउँदा ओपनर अर्जुन साउद र नन्दन यादवले समान १३ रन बनाए ।
यूएईका महोम्मद जुहैवले तीन विकेट लिएका छन् । जुनेद सिद्धिकेले दुई विकेट लिँदा हैदर अलि र महोम्मद अर्फानलले समान एक विकेट लिएका छन् ।
यो शृखंलाको पहिलो खेल हो । क्रिकेट विश्वकप लिग–२ को पूर्वसन्ध्यामा आयोजित यो शृखंलाको दोस्रो खेल भोलि त्रिवि क्रिकट रंगशालामै हुनेछ ।
खेलमा दुवै टोली विजयी सुरुआतको खोजीमा छन् ।
शृखंलापछि नेपालले यूएई र ओमान सम्मिलित क्रिकेट विश्वकप लिग–२ अन्तर्गत दुवै टोलीसँग समान दुई खेल खेल्ने तालिका छ ।






