काठमाडौं, २ वैशाख २०८३ । नेपालमा अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन सट्टेबाजीसम्बन्धी १० हजारभन्दा बढी एप्लिकेसन र वेबसाइटहरू बन्द गरिएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार इन्टरनेट सेवा प्रदायकहरूसँगको समन्वयमा अवैध सट्टेबाजीसँग सम्बन्धित डिजिटल प्लेटफर्महरू पहिचान गरी हटाउने काम भइरहेको छ। प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार हालसम्म १० हजारभन्दा बढी एप तथा वेबसाइट बन्द गरिसकिएको छ।
नेपाल टेलिकमले मात्रै ठूलो संख्यामा यस्ता अवैध प्लेटफर्महरू बन्द गरेको जनाइएको छ। अधिकारीहरूले यस्ता एप तथा वेबसाइटहरू पहिचान गर्ने र बन्द गर्ने प्रक्रिया निरन्तर चलिरहेको बताएका छन्। सरकारले शासकीय सुधारअन्तर्गत अनलाइन सट्टेबाजी नियन्त्रणलाई प्राथमिकतामा राख्दै २४ घण्टाभित्र यस्ता प्लेटफर्म बन्द गर्ने निर्णय कार्यान्वयन गरिरहेको छ। सोहीअनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनपछि प्राधिकरणले देशभरका इन्टरनेट सेवा प्रदायकमार्फत कारबाही अघि बढाएको हो।
मुलुकी अपराध संहिता २०७४ अनुसार सट्टेबाजी गर्न वा गराउन कानुनी रूपमा निषेध गरिएको छ। कानुन उल्लंघन भएमा एक वर्षसम्म कैद तथा जरिवाना हुने व्यवस्था रहेको छ।






