काठ्माडौं, २७ फागुन २०८२ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ को पहिलो चरणको खेलतालिका सार्वजनिक भएको छ। प्रतियोगिताको सुरुवाती चरणमा २० खेल खेलाइनेछन्।
उद्घाटन खेल मार्च २८ मा बेंगलुरुको एम चिन्नास्वामी रंगशालामा साविक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र सनराइजर्स हैदराबाद (एसआरएच) बीच हुनेछ।
गत वर्ष आरसीबीको उपाधि जितेपछि उत्सवका क्रममा भएको भीडभाडमा ११ जनाको मृत्यु भएपछि चिन्नास्वामी रंगशालामा आईपीएल खेलाउने विषयमा अन्योल थियो।
कर्नाटक सरकारले हालै रंगशालालाई खेल आयोजना गर्न अनुमति दिएको छ। तर अन्तिम निर्णय भने विशेषज्ञ समितिको निरीक्षणपछि मात्रै हुनेछ। उक्त समिति मार्च १३ मा रंगशालाको निरीक्षण गर्दै खेलको दिनको व्यवस्थापनबारे परीक्षण गर्नेछ।
दोस्रो खेल मुम्बई इन्डियन्स (एमआई) र कोलकाता नाइट राइडर्स ९केकेआर० बीच मुम्बईको वानखेडे रंगशालामा हुनेछ। उद्घाटनको सप्ताहन्तमा भने डबल–हेडर खेल राखिएको छैन।
पश्चिम बंगाल, तमिलनाडु र आाम लगायत केही राज्यमा निर्वाचन हुने भएकाले आईपीएलले प्रतियोगिताको तालिका दुई चरणमा सार्वजनिक गर्ने निर्णय गरेको हो। पहिलो चरणमा २० खेल हुनेछन्, जसमा अप्रिल ४–५ र अप्रिल ११–१२ को सप्ताहन्तमा चार डबल–हेडर खेल पनि समावेश छन्।
यस चरणमा सबै १० टोलीले चार–चार खेल खेल्नेछन्। यद्यपि टोलीहरूलाई कसरी समूहमा विभाजन गरिएको छ भन्ने स्पष्ट गरिएको छैन।
यस सिजन राजस्थान रोयल्सले गुवाहाटीमा तीन खेल खेल्नेछ भने बाँकी चार घरेलु खेल जयपुरको सवाई मानसिंह रंगशालामा हुनेछ। आरसीबीले दुई खेल रायपुरमा खेल्नेछ भने पञ्जाब किंग्सले तीन खेल धर्मशालामा खेल्ने तालिका छ।
आईपीएल २००८ देखि सुरु भएयता भारतमा आम निर्वाचन वा राज्य निर्वाचन भएका वर्षहरूमा प्रतियोगिताको तालिका दुई चरणमा सार्वजनिक गर्ने चलन रहँदै आएको छ।






