काठ्माडौं, २६ मंसिर २०८२ । भारतका फुटबल प्रशंसकहरूको लामो प्रतीक्षा तब समाप्त हुनेछ, जब अर्जेन्टिनाका चर्चित फुटबल खेलाडी लियोनेल मेस्सी भोलि शनिबार (डिसेम्बर १३) भारत आइपुग्नेछन् ।
उनी बिहान करिब १०:३० बजे कोलकाताको साल्ट लेक स्टेडियममा अवतरण गर्नेछन्, जसले देशभरका प्रशंसकहरूमाझ व्यापक उत्साह जगाएको छ । यद्यपि, विश्वकप विजेतासँग व्यक्तिगत रूपमा भेट गर्ने आशा राख्नेहरूका लागि, यो अनुभव महँगो शुल्कसहित आउँदै छ ।
‘द जीओएटी इन्डिया टुर २०२५’ का आयोजकहरूले घोषणा गरेअनुसार मेस्सीसँग एउटा तस्बिर खिच्नका लागि जीएसटीबाहेक ९.९५ लाख रुपैयाँ लाग्नेछ ।
मेस्सीको ‘द जीओएटी इन्डिया टुर २०२५’ कोलकाता, हैदराबाद, मुम्बई र नयाँदिल्ली गरी चार प्रमुख सहरहरूमा फैलिएको छ ।
यो भ्रमणमा मेस्सीसँगै उनका लामो समयदेखिका टिममेट लुइस सुआरेज र रोड्रिगो डी पल पनि आउँदै छन्, जो फिफा विश्वकप २०२२ मा अर्जेन्टिनाको फुटबल टोलीको जितका मुख्य खेलाडी थिए ।
यो भ्रमणमा मुख्य स्थानहरूमा सार्वजनिक उपस्थिति, सांस्कृतिक कार्यक्रमहरू र सेलिब्रिटी फुटबल प्रदर्शनीहरू समावेश गरिएका छन् ।
उनी आफ्नो भारत यात्राको सुरुआत कोलकाताबाट गर्नेछन्, जहाँ उनी एउटा मैत्रीपूर्ण खेल खेल्नेछन् र आफ्नो ७० फिट ९२१ मिटर० अग्लो मूर्तिको अनावरण गर्नेछन् । यद्यपि, सुरक्षा कारणले उनले भर्चुअल्ली मूर्तिमाथिबाट पर्दा हटाउनेछन् ।
मेस्सीले कोलकातामा अभिनेता शाहरुख खान र भारतीय क्रिकेट टोलीका पूर्वकप्तान सौरभ गांगुलीसँग पनि भेट गर्ने बताइएको छ ।
यसपछि उनी हैदराबाद, मुम्बई र दिल्ली जाने कार्यक्रम छ । हैदराबादमा उनले आफ्नो सम्मानमा आयोजित गरिएको एक कन्सर्टमा सहभागी हुने र एउटा मैत्रीपूर्ण खेल पनि खेल्ने बताइएको छ ।
त्यस्तै, दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनको भेटघाटको कुरा पनि भइरहेको बताइएको छ ।
मेस्सीको सन्देश
भारत आउनुअघि मेस्सीले त्यहाँको यात्रा गर्नु र प्रशंसकहरूसँग भेट्नु सम्मानको कुरा भएको बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेख्दै भने, “भारत फुटबलका लागि मरिमेट्ने देश हो र म यहाँ प्रशंसकहरूको नयाँ पुस्तासँग भेट्न र यो सुन्दर खेलप्रतिको मेरो प्रेमलाई बाँड्नका लागि उत्साहित छु ।”






