डण्डिराज घिमिरे‘विवेक’
नेपालको २०८२ भदौ २३ र २४ गतेको जेन्जी आन्दोलन पछि राजनीतिमा ठूलै तरंग देखिएको छ । अहिलेको जेन्जी पुस्ताको जस्तै उर्वर उमेरमा देश र जनताको मुक्तिको लागि साहदत शहीद रमेश सुवेदीहरु जस्ता नेपाल आमाका सच्चा सन्ततीहरुको सपना पूरा हुँदैछन् ? राजनीति मुठ्ठीभरको स्वार्थमा दुरुपयोग हुँदै जाँदा जेन्जी पुस्ताले आज देशमा बिद्रोहको शंखघोष गर्नुपर्यो ।
जनयुद्ध र रमेश सुवेदी
महान जनयुद्ध देशभरि नै फैलने क्रम जारी थियो । कम्युनिष्ट चेतनाको उर्बर भूमी नेपालको पूर्बी जिल्लामा जनयुद्धको पारिलो घामको प्रभाव नपर्ने कुरैभएन । जनयुद्धका पहिलो शहीद दिलबहादुर रम्तेल लगाएतका शहीदहरुको रगत रक्तबीज बनेर क्रमशः छिन्ताङ, इभाङ र सुखानीलाई चुम्दै आधार इलाका निर्माणको महान अभियानमा जनयुद्ध झापामा पनि सशक्त हुँदै थियो ।
झापाली युवाहरु तत्कालिन नेकपा माओवादीको झण्डामा गोलबन्द हुँदै जनयुद्ध मार्फत सर्बहारा नेपाली जनताको मुक्तिको सगरमाथा स्थापित गरेरै छाड्ने भनेर संघर्षमा लामबद्ध हुनथाले । झापाको पश्चिम दक्षिणमा रहेको गौरादहलाई केन्द्र बनाएर गौरादह बहुमुखी क्याम्पसमा अध्ययनरत होनाहार मेधावी विद्यार्थी रमेश सुवेदी पनि माओवादी पार्टी र क्रान्तिमा लामबद्ध हुनुभयो ।
राजनीतिमा प्रवेश नगर्दै चरम यातना र १५ दिन हिरासतमा बन्दी
वि.सं. २०३७ साल जेठ १४ गते वुवा गँगाराम र आमा देवीमाया सुवेदीको कोखलाई सफल पार्दै जेष्ठ पुत्र रत्नको रुपमा जन्मनु भएका रमेश सुवेदीको माध्यमिक तह सम्मको अध्ययन श्री नरेन्द्र जनता उच्च मा.वि. तोपगाछीबाट पुरा भएको थियो ।
साविकको झापा तोपगाछी–९ हालको कमल गाउँपालिका १ सरङपाडाका स्थायी बासिन्दा भएकाले घर छेउकै विद्यालयबाट माध्यमिक तहसम्मको अध्ययन पूरागरेपछि उहाँ कलेज पढ्न मेची क्याम्पस भद्रपुर पुग्नुभयो । आइ.ए. प्रथम वर्षमा अध्ययन गर्दैगर्दा विदामा घर आएको समयमा सर्वप्रथम २०५६ सालमा उहाँको गिरफ्तारी भयो ।
२०५६ सालमा तत्कालिन नेकपा माओवादीले गौरादह बजारको नेपाल वैक लिमिटेड रेड गर्ने असफल प्रयास गरेको थियो । वैकको गार्डबाट हतियार खोसेपछि भाग्ने क्रममा तत्कालिन माओवादीका जनमिलेसियाहरु शहिद रमेश सुवेदीको घर अगाडिको बाटो हुँदै गएका थिए । उहाँको घर छेउ पुगेपछि हतियार छाडेर मिलेसियाहरु भागेछन् । घरै छेउको लाफादी खोलाको झ्यासमा वैकबाट खोसेको हतियार फेला परेपछि नजिक घर भएको कारण बाटा छेउमा उभिइरहेको अवस्थामा उहाँलाई प्रहरीले पहिलो पटक गिरफ्तार गरेको थियो ।
प्रहरीले विना प्रमाण घटनाको बारेमा केही थाहै नभएको एक निर्दोष युवालाई गिरफ्तार गरी १५ दिनसम्म चरम यातना दिएर चन्द्रगढी हिरासतमा राखियो । अन्तत निर्दोष उहाँलाई रिहा गर्न बाध्य भयो प्रशासन । यसरी सुरु भएको थियो शहिद रमेश सुवेदीको राजनीतिक जीवन ।
गौरादह बहुमुखी क्याम्पसमा स्ववियु उपसभापतिमा निर्वाचित
समाजका बिकृति र बिसंगतीको बिरुद्धमा जनयुद्ध अचुक औषधी बनेर झापाका पनि गाउँबस्ती र सर्बसाधारण जनताको मन मुटुमा स्थापित हँदैथियो । थुप्रै रचनात्मक संघर्षबाट विद्यार्थी र समाजको बीचमा गौरादह बहुमुखि क्याम्पसमा पनि अनेरास्ववियु क्रान्तिकारी बिद्यार्थी संगठन बलियो बन्दैथियो ।
गिरफ्तार र यातना पछि मेची क्याम्पसको पढाई छोडेर २०५६ सालबाट गौरादह बहुमुखि क्याम्पसको अध्ययन प्रारम्भ गर्नुभएका रमेश सुबेदी झापाली बिद्यार्थी आन्दोलनको मेरुदण्ड बनेर होनाहार योद्धाको रुपमा क्रियाशिल हुनुहुन्थ्यो । माओवादी जनयुद्धमा गौरादह क्षेत्रको संस्थापक भनेर चिनिने तारा रिजाल‘लखन’ पुर्णकालीन कार्यकर्ताको रुपमा बिकास भैसक्नु भएको थियो । त्यसपछि सबैलाई उछिनेर मिजासिलोपन, सालिन, हसिंलो तथा तिक्ष्ण क्षामताका धनी कमरेड रमेश सुवेदी पूर्णकालीन कार्यकर्ता बन्नुभयो । गौरादह बहुमुखी क्याम्पसमा अध्ययन गर्दा सरल, हसिलो, मिजासिलो, निडर उहाँको स्वभावका कारण सबै विद्यार्थीको माझमा र गुरुहरुको माझमा उहाँ लोकप्रिय हुनुहुन्थ्यो ।
२०५७ साल चैत्र ५ गते भएको गौरादह बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियू क्रान्तिकारीको तर्फबाट स्ववियू उपसभापतिमा भारी मतले विजयी हुनुभएको थियो । शहिद सुवेदीको कुशल नेतृत्वको परिणामस्वरुप उक्त निर्वाचनमा अनेरास्ववियू क्रान्तिकारीको ११ जनाको प्यानल नै विजयी भयो । उक्त प्यानलको सभापतिमा सिताराम भट्टराई, सचिव डण्डिराज घिमिरे, सहसचिव रमेश ओझेल दंगाल, कोषाध्यक्ष तारा खनाल र सदस्यहरुमा सुरज शर्मा, धना भट्टराई, मातृका पौडेल, रामचन्द्र बेस्रा, किरण न्यौपाने र विनय दाहाल रहनु भएको थियो । चुनवको त्यस परिणामले जनयुद्ध झापामा पनि तिब्र गतिमा स्थापित हुँदैछ र गौरादह कम्युनिष्ट राजनीतिको अगुवा चेतना भएको ठाउँहो भनेर पुष्टि समेत गर्यो ।
साहित्यमा रमेश सुवेदी
मेची क्याम्पसमा अध्ययन गर्ने निर्दोश रमेश सवेदी जब हिरासतमा बन्दी बन्नु पर्यो त्यस पछि मेची क्याम्पसको पढाइ रोकियो । चरम यातनाको पिडा भित्र विद्रोहको र बदलाको सगरमाथा बोकेर मेची क्याम्पसको अध्ययन छोडेर पुन : आइ.ए. प्रथम वर्षमा गौरादह बहुमुखी क्याम्पसमा भर्ना भई पढाइलाई अघि बढाउँदै विद्यार्थी राजनीतिमा सम्लग्न हुनु भयो उहाँ । स्व.सुवेदी साहित्यमा रुची राख्ने र लेख्ने प्रकाशन गर्न रचाउनु हुन्थ्यो । विहानी साहित्य समाज गौरादहको संस्थापक कार्यसमिति सदस्य तथा विहानी कविता संग्रहको सम्पादकको समेत भूमिका निर्वाह गर्नुभएको थियो । गीत, संगीत, साहित्य मार्फत पनि समाज रुपान्तरणमा न्याय समानता र वर्गमुक्तिमा आफूलाई समाहित गर्नुपर्छ र नीजि जीवनभन्दा समाज र राष्ट्रका लागि बाँच्नु पर्छ भन्ने उहाँको उच्च विचार क्याम्पसका विभिन्न कार्यक्रममा अभिव्यक्त हुने गर्थे ।
२०५८ साल मंसिर ११ गतेबाट तत्कालिन सरकारले देशमा संकटकालको घोषणा गरेपछि र अनेरास्ववियू क्रान्तिकारीलाई प्रतिवन्ध लगाएपछि उहाँको भूमिगत जीवन सुरु हुन्छ ।
भूमिगत जीवन
अन्याय, अत्यचार, दमन, उत्पिडन र शोषणले प्रताडित जनसमुदायको आसा र भरोषाको सारथी बनेर जनयुद्ध निरन्तर अघि बढ्दै गयो । रमेश सुवेदी, प्रकाश भण्डारी ‘संजोग’, विष्णु, प्रधान र रञ्जित तामाङ, ढुण्डिराज गुरगाईँ, सुरज शर्मा, विष्णु हास्दा लगाएत गौरादह क्षेत्रबाट झापामा पूर्णकालिन कार्यकर्ताबनेर महान जनयुद्धमा विद्यार्थी राजनीतिबाट आफ्नो परिचय स्थापित गर्नुभयो ।
२०५९ सालको अनेरास्ववियू क्रान्तिीकारीको झापा जिल्ला अधिवेशनले शहिद सुवेदीलाई जिल्ला अध्यक्षको गहन जिम्मेवारी सुम्पियो । रमेश सुवेदी यहासम्म आइपुग्दा ज्यादै लोकप्रिय विद्यार्थी नेताको रुपमा देश भरि नै स्थापित नाम बन्न पुग्यो ।
विद्यार्थी संगठनको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्दै गर्दा उहाँको क्षमता र इमान्दारिताको उच्च मुल्यांकन गर्दै तत्कालिन माओवादी पार्टीले जिल्ला सदस्य तथा एरिया इन्चार्जको जिम्मेवारी समेत दिएको थियो । भूमिगत राजनीतिमा उहाँलाई कमरेड ‘रोहित’ भनेर चिनिन्थ्यो । भूमिगत राजनीतिमा रहँदा उहाँ तत्कालिन गौरादह, महारानीझोड, कोहवरा, जुरोपानी र बैगुनधुरा लगायतका स्थानीय गाउँबस्तीहरुमा जनताको बीचमा भेटिनुहुन्थ्यो ।
शाहदत तथा बलिदानी
आजभन्दा २१ वर्ष अघि २०६१ मंसिर ६ गतेका दिन तत्कालिन शासन व्यवस्थाको फ्mाशिष्ट शाहीसेनाद्वारा लोकप्रिय युवा नेत रमेश सुबेदीको हत्या गरिएको थियो । हत्या हुँदा उहाँ अनेरास्ववियू क्रान्तिकारीको दोस्रो कार्यकालको झापा जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । नयाँ नेपाल निर्माणको स्वर्णीम सपना सजाएर गणतन्त्र स्थापनार्थ वर्ग संघर्ष लडिरहँदा उहाँको हत्या गर्ने गणतन्त्र विरोधीहरुलाई आज समयले देशमा गणतन्त्र मान्न बाध्य बनाएको छ ।
तत्कालिन फाशिष्ट शाहीसत्तासँग आत्मसमर्पण नगरी संसार बदल्ने सगरमाथा जत्रो लक्ष्य राख्नु भएका स्व.सुवेदीको भौतिक शरीर हामी विच नभए पनि परिवर्तनका खातिर हाँसीहाँसी बलिदानी भएर देशभक्ति, विरता र त्यागको गौरवमय स्वर्णीम इतिहासमा उहाँ अम्मर हुनुहुन्छ ।
दिर्घकालिन जनयुद्धको मर्म भावना र उद्देश्यलाई सफल पार्ने महान दिशामा आफू स्वयं वर्तन बनेर उज्यालो छर्ने उहाँको निरन्तर अविराम उच्च चेतनाको यात्रालाई भौतिक रुपमा तत्कालिन फासिष्ट राज्यसत्ताले सिध्याएपनि उहाँहरुजस्ता नेपाली सपुतको बलीदानीले त्यो यात्रा निरन्तर जारी छ ।
लाखौ युवा नेपाली राजनीतिमा आसाको किरण बनेर देखिएका छन् । देशले मागेको बखत शहीद रमेश सुवेदी जस्तै राष्ट्रको लागि बलिदानी हुन तमाम युवा जगत तयार हुनु अवको आवश्यकता हो । उहाँहरु जस्ता युवाको रगतले खनिएको परिवर्तनको रक्तिम गोरेटो अझ फराकिलो बनाउँदै आजका युवाहरु अघिबढ्नु पर्दछ ।






