Online Bichar
शुक्रबार, भाद्र ०५, २०८३ | Friday, August 21, 2026

काठमाडौं, ३ भदौ २०८३ । काले भनेर चिनिने योगेन्द्र तामाङ, देवेन्द्र थापामगर, मिलन बिक र संजित साम्नत तीन दिनदेखि ललितपुर प्रहरीको हिरासतमा छन् ।

संजित भारतीय नागरिक हुन् । प्रहरीले उनीहरूलाई डाँकाचोरी कसुरमा पक्राउ गरेर थुनामा राखेको हो । उनीहरू चारजनालाई नै उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले भदौ १ गते पक्राउ गरेको हो । उनीहरूलाई कार्यालयको टोलीले काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

असार २६ गते भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ विगमार्टनजिक मोटरसाइकलमा आएका दुईजनाले महिलाको सिक्री लुटेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान गर्दा उनीहरूको संलग्नता खुलेको हो ।

भक्तपुरको सूचनाको आधारमा अनुसन्धान गर्दा पक्राउ परेका योगेन्द्र तामाङ र देवेन्द्र्र थापामगर डाँका भएको पाइएको प्रहरीले बताएको छ ।

भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ का ३२ वर्षीय योगेन्द्र र रामेछाप दोरम्बा गाउँपालिका–२ का ३६ वर्षीय देवेन्द्र विभिन्न लुटपाटको घटनामा समेत संलग्न रहेको पाइएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार देवेन्द्र र योगेन्द्रको समूहले साउन २२ गते सुनसरीको धरान पाथिभारा लाइनबाट समेत एक महिलाको साढे दुई तोलाको सुनको सिक्री लुटेको खुलेको छ ।

पाथिभारा लाइनमा महिलाको सुन लुटेको एकहप्ता मै पुनः योगेन्द्र र देवेन्द्रले सुनसरीको इटहरीमा पनि एक महिलाको गलाबाट तीन तोलाको सिक्री लुटेका थिए ।

इटहरीबाट लुटेको सुन काठमाडौं ल्याउँदै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । प्रहरीले उनीहरूको साथबाट सुनको सिक्री समेत बरामद गरेको छ । प्रहरीको अनुसन्धानका क्रममा लुटपाटको सुन खरिद गर्ने गरेको आधारमा भारतीय नागरिक संजित र मिलन विकलाई पनि पक्राउ गरेको छ ।

प्रहरीको अनुसन्धानका क्रममा योगेन्द्र र देवेन्द्रले पूर्वका ठूला सहर र काठमाडौंलाई आधार बनाएर लुटपाट गर्दै आएको खुलेको छ । प्रहरीले लुटपाट गर्न प्रयोग गर्ने मोटरसाइकल समेत बरामद गरेको छ ।

प्रहरीको अभिलेखमा योगन्द्रविरुद्ध डाँकाचोरी कसुरमै दुईपटक मुद्दा समेत चलेको खुलेको छ । उनीहरू महिलाको रेकी गर्दै एकान्त र लुटेर भाग्न सहज हुने ठाउँ ढुकेर बस्ने र लुटेर भाग्ने गरेको प्रहरीले बताएको छ ।

सिक्री लुटपाट गर्दा योगेन्द्र मोटरसाइकल चलाउने र देवेन्द्र सिक्री लुट्ने धन्दामा सक्रिय रहेको पाइएको छ । उनीहरूले सिक्री लुट्नकै लागि समूह बनाएर हिँड्ने गरेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया