गौरादह, ९ जेठ । ‘हाम्रो गौरादह, राम्रो गौरादह’ हामी मख्ख थियौँ । हिँजोआज भने लागुऔषध दुर्व्यसनको डढेलोले गौरादह आक्रान्त छ । हेर्दाहेर्दे गौरादहमा युवाशक्तिको ठूलो संख्या लागुऔषधको दलदलमा फस्दैछ । गौरादहको यो कुरुप पक्ष लेख्नुपर्दा लज्जा बोध पनि भएको छ ।
समाजको मेरुदण्ड युवा वर्ग लागुऔषधमा खुलेआम फस्दैगर्दा रोकथाम नियन्त्रणमा गौरादह नगरपालिकाले के कस्ता संस्थागत ठोस प्रयासहरु गर्दैछ ? यो प्रश्नले गौरादहको सचेत मस्तिष्कलाई पक्कै घोचिरहेको छ । खुलेआम भन्नुको अर्थ यहाँ लुकीछिपी होइन, दिन दहाडै लागु पदार्थको सेवनमा खुलमखुला वातावरण छ ।
गौरादहमा लागुऔषधको खुलमखुला वातावरण :
१. गौरादहका विद्यालय तथा कलेज आसपासका होटल र पसलमा स्थानीय सरकार तथा नियमक निकायबाट अनुगमन हुँदैन । धेरैजसो होटल तथा पसलमा ऐन नियम विपरित विद्यालय/क्याम्पसको पेषाकमा भएका विद्यार्थीलाई मदिराजन्य तथा सुर्तीजन्य पदार्थ खुलमखुल्ला बेचिन्छ ।
२. व्यवसाय दर्ताको इजाजत भन्दा बाहिर गएर खुलमखुला रक्सी, चुरोट लगायतका पेयपदार्थ जतासुकै विक्रिवितरण हुँदा स्थानीय सरकार अनुगमन गरी नियम उल्लंघन गर्नेलाई कारवाही गर्दैन ।
३. लागुऔषध सेवन तथा ओसार पसार र विक्रिवितरणमा पक्राउ परेकालाई छुटाउन प्रहरी प्रशासनलाई दबाब र प्रभावमा पार्न राजनीतिक दलका केही स्थानीय नेता खुलेरै लाग्छन् । समाज सुधार्न भन्दा पनि उनीहरुको राजनीति चुनाव जित्ने भोटसंग सिमित छ ।
४. गौरादहका धेरैजसो औषधी पसलमा डक्टरको प्रेस्किप्सन बिना नै संकास्पद जो कोही किशोरकिशोरी र युवाले सहजै लागुऔषध दुव्र्यसनमा प्रयोग हुने औषधि किन्न पाउँछन् ।
५. गौरादहका धेरैजसो किराना तथा पान पसलमा विद्यालय÷क्याम्पस पोसाकका विद्यार्थीले सहजै चुरोट, खैनी,सुर्ती, भोला र रजनीगन्धा आदि किन्न पाउँछन् । विक्रेतालाई नाफासंग मात्र सरोकार छ ।
६. आर्थिक सामाजिक पहुँच राख्ने अभिभावकले छोराछोरीले गरेका गलत कामलाई निर्लज्ज ढाकछोप गर्छन् । प्रहरीलाई कार्यसम्पादनमा अनावस्यक दबाब दिन्छन् ।
७. गौरादह नपाको दक्षिण सिमनाबाट चार किलोमिटरमा नेपाल–भारत सिमना पर्दछ । दिनहुँ गौरादहबाट त्यसतर्फ लागुऔषधका संकास्पद गतिविधि खुलमखुल्ला चल्छन् ।
८. गौरादहका धेरैजसो होटलमा विद्यालय/क्याम्पस पोसाकमा भएका विद्यार्थीले रक्सी, चुरोट लगायतका वस्तुको खरिद तथा सेवन सहजै गर्न सक्छन् ।
९. लागुऔषध सेवन गर्न तथा सेवन गरेर लठ्ठिएका कशोरकिशोरी र युवाहरू समुहमा खुलेआम एकान्त ठाउँ पुलकलभर्ट, सार्वजनिक स्थल, नयाँ प्लटिङका सडकमा भेला हुन्छन् । कसैको निगरानी र सोधीखोजी हुँदैन ।
१०. सामान्य देखिने दर्जनौँ चियापसल र सामान्य देखिने रक्सी भट्टीमा दिन दहाडै लागुऔषध प्रयोगकर्ताहरू खुलेआम निर्धक्क जमघट गरिरहन्छन् । चुरोटको धुलो झारेर गाँजा भर्छन् ।
११. कतिपय होटल तथा चिया पसलमा चियाखाजा खाइसकेर पनि घण्टौंसम्म विद्यार्थी तथा किशोरकिशोरी निर्धक्क भेला हुन्छन् । कतिपय होटलवाला नै यो वातावरणका लागि प्रोत्साहन गर्दछन् ।
१२. समाजका प्रतिष्ठित भनिएका र चिनिएका कतिपय जिम्मेवार नेता तथा अभिभावकहरूले नै खेलेआम सार्वजनिक स्थलमा रक्सी, चुरोट आदि सेवन गर्नु पनि लागुऔषधको लागि खुलमखुला वातावरणको पुष्टि हो ।
१३. विद्यालय उमेरका बालबालिका लागुऔषधमा फसेर ठूलो संख्यामा चोकबजार तथा एकान्त ठाउँमा बरालिएको देख्दा पनि सचेत नागरिक समाज, स्थानीय सरकार, सुरक्षा निकाय र सरोकारवाला सबै बेखबर झैँ मौन हुनु ।
१४. गौरादहका सचेत नागरिक माथि उल्लेखित खुलेआमका घटना प्रहरी प्रशासनलाई सूचना दिन डरत्रासले हो वा लापरवाहीले हो हिच्किचाउँछन् । प्रहरी पनि कतिपय अवस्थामा देखेको नदेखे झैं भएको पाइन्छ ।
लागु पदार्थ भनेको के हो ?
मानिसमा लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो । सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागु पदार्थ भनिन्छ । यस्ता पदार्थले मानिसको केन्द्रिय स्नायू प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाईमा परिवर्तन ल्याउँदछ ।
कानूनद्वारा निषेधित गाँजा अफिम हिरोइन मर्फिन कोकिन आदि अवैध लागु औषध हो भने सूर्तिजन्य पदार्थ र मदिरा कानूनद्वारा नियन्त्रित लागु पदार्थ हो ।
लागुऔषध रोकथाम तथा नियन्त्रणमा स्थानीय सरकारले गर्नसक्छ :
१. व्यापारी व्यवसायीलाई ‘विद्यालय पोषाक र उमेरका किशोरकिशोरीलाई मदिरा तथा सुर्तीजन्य पदार्थ बेचविखन नगरौँ ।’ भनेर सचेतनामूलक सूचना, अन्तरक्रिया, तथा विविध कार्यक्रम चलाउने ।
२. दिनहँुजसो नेपाल भारत सिमाना गौरीगञ्ज–फत्तेपूर वारीपारी गरेर गौरादह भित्रिने संकास्पद मोटरसाइकल तथा गतिविधि नियन्त्रणमा विशेष संयन्त्र बनाएर निगरानी बढाउँ । यो काममा प्रहरीलाई मात्र सिमित नगरी स्थानीय सरकार पनि अबिलम्ब लागि पर्नैपर्छ ।
३. नगरप्रहरीलाई परिचालन गरेर विद्यालय क्षेत्रका होटल, चिया चमेना पसल तथा किराना पसलमा नियमित तथा आकस्मिक अनुगमन गरौं ।
४. जे कारोबार गर्ने भनेर इजाजत लिएका छन् त्यो भन्दा बाहिरी कारोबार गरेको छ वा छैन ? स्थानीय सरकार निर्मम भएर अनुगमन गर्नुपर्छ । यो स्थानीय सरकारको अधिकार क्षेत्र हो । उदहारका लागि कतिपय किराना, चियानास्ता तथा पान दोकानको अनुमतिमा रक्सी चुरोट आदि खुलेआम विक्रि भइरहेका छन् ।
५. नगरपालिकाले जनपथ तथा शसस्त्र प्रहरीसंगको सहकार्यमा हाल भैरहेको भन्दा नियमित तथा बाक्लो गस्ती बढाउने ।
६. ‘रोगलागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बेस’ भनेझैँ प्रहरी, स्थानीय सरकार तथा नागरिक समाज दुर्व्यसन नियन्त्रमा तुरुन्त लागौँ । घटना घटेपछिको प्रहरीको सक्रियताले मात्र पुग्दैन । घटना हुने संभावित वातावरणको विरुद्ध निगरानी गर्न र सभ्य समाज निर्माणमा सबै जुटौं ।
७. होटल संचालकलाई विद्यालय/क्याम्पस पोसाकमा भएका विद्यार्थीलाई जाँडरक्सी, चुरोट आदि नबेच्न सार्वजनिक आव्हान गर्ने, पत्रचार गर्ने र अनुगमनलाई तिब्र बनाउने ।
८. यस सम्बन्धमा नगरपालिका आँफूले बनाएका ऐन नियम कार्यन्वयनमा सक्रियता आवस्यक छ । ऐनको किताबमा लेखेरमात्र कार्यन्वयन हुँदैन । स्थानीय सरकारको प्रभावकारी व्यवहार आवस्यक छ ।
९. सार्वजनिक स्थलहरु जस्तै : विद्यालय, कलेज, अतिथि सदन, सामुदायिक भवन, नगरपालिका, वडा कार्यलय आदि एकान्त क्षेत्रमा कार्यलय समय बाहेक र विदाको दिनमा लागुऔषध प्रयोग कर्ताको चहलपहल देखिन्छ । त्यस्ता स्थानमा विशेष निगरानी बढाउन आवस्यक छ ।
१०. सबै वडाका सबै टोल समितिलाई लागु औषध रोकथाम तथा नियन्त्रण सम्बन्धमा सशक्त माध्यमको रुपमा विकास गर्न सचेतनामूलक विशेष कार्यक्रम संचालनको प्रवन्ध मिलाउने ।
११. सरकारका तर्फबाट रोजगारीका कार्यक्रम, बाबुआमाले आफ्ना बाबुनानीहरूलाई यथेष्ट समय, समाजमा युवामैत्री वातावरण, उनीहरूलाई समाजिक कार्यमा संलग्न गराउने, टोलटोलमा कला संस्कृति, नृत्य, संगीत, खेलकुद आदिसम्बन्धी कार्यक्रमहरू सञ्चालनमा ल्याउनु पर्दछ । यसरी उनीहरूका रुचीअनुसारका रचनात्मक कार्यक्रम समाज र राज्यले दिनु पर्दछ ।
१२. होटलमा चियाखाजा खाइसकेपछि लामो धेरैबेरसम्म बस्ने तथा चुरोटको ढुटो झारेर गाँजा भर्ने जस्ता क्रियाकलाप गर्ने वा सो वातावरण चाहनेलाई खाजा खाएपछि घण्टौं बस्न नदिने कार्यविधि बनाउने ।
१३. सार्वजनिक स्थलका सिसी क्यामरालाई प्रभावकारी बनाउने तथा अन्यत्र थुप्रै स्थानमा थप जडान गरी निगरानी बढाउने ।
१४. उद्योग कलकारखाना खोलेर तथा सिप सिकाएर युवाहरूलाई रोजगार तथा स्वरोजगारको वातावरण सिर्जना गर्नुपर्दछ ।
१५. स्थानीय सरकारले योजनाबद्ध कार्यनीति बनाउने जनताहरुसामु व्यापकरूपमा प्रचारप्रसार गर्नुपर्दछ । विभिन्न सामाजिक संघसंस्था, समूह, गैरसरकारी संस्था, सर्वसाधारण जनता लगायत सबै पक्षलाई यस विषयमा जागरुक बनाउनु पर्छ ।
लागु पदार्थ दुव्र्यसनीको दलदलमा युवाहरू फस्ने कारण :
१. बेरोजगार युवाहरू थोरै समयमा धेरै पैसा कमाउले सपना बुनेर लागुऔषधको कारोबारमा संलग्न हुने र पछि सेवनकर्ता बन्ने ।
२. महत्वकाक्षी योजना बनाउने, अरुको देखासिकी आदी कारणले युवाहरु लागुपदार्थको दलदलमा फस्ने गरेको
३. शहरउन्मुख क्षेत्रहरुमा अभिभावकले आफ्ना बालबालिकाको अवस्था, दिनचर्या, उसले गर्ने क्रियाकलापका बारेमा ध्यान नदिँदा लागुपदार्थको दलदलमा फस्ने गरेको पाइन्छ ।
४. भारतसँगको खुला सिमाना, सबैतिर सुरक्षादृष्टि पु¥याउन नसक्ने सुरक्षा निकायको कमजोरी तथा सीमावर्ती भारतीय बजारहरूमा हुने खुलमखुला बेचबिखनलगायतको कारण ।
५. कतिपय परिवारका सदस्यले भाइबहिनी तथा छोराछोरीकै सामुन्ने लागुऔषध सेवन गर्छन् । त्यस्तो अवस्थामा बच्चाले उसको नक्कल गर्छ र बालबालिका समेत यसको कुलत फस्न जान्छन् ।
६. बालबालिकालाई दिएको पैसाको सही उपयोग भए नभएकोमा पनि अभिभावकले ध्यान दिन आवश्यक छ । खाजाको लागि बालबालिकालाई पसा दिएर अभिभावक पन्छिनु ।
७. छोराछोरीले गरेका गलत कामलाई अभिभावकले ढाकछोप गर्नु, उनीहरूलाई पर्याप्त समय नदिनु र भावना नबुझ्नु जस्ता कारणले पनि बालबालिका कुन बाटो हिँड्दैछन् भन्ने अभिभावकले थाहा नपाउने ।
हिजो आज युवा समुदायहरूमा लागु औषध जीवनसाथी जस्तै बनिरहेको छ । मुलुक विकासका सम्बाहक उर्जाशील युवाशक्ति कुलतमा फसेपछि उनिहरु आफ्नो लागि मात्र नभएर परिवार एवं समाजको समेत बोझ बनेका छन् । गौरादह क्रमशः दलदलमा फस्दैगर्दा लागुऔषध रोकथाम र नियन्त्रणमा स्थानीय सरकार बेखबर रहन मिल्दैन । ‘गौरादह बेखबर’ भन्नाले गौरादहको स्थानीय सरकार, जनप्रतिनिधि, सचेत नागरिक समाज, स्थानीय राजनीतिक दलहरू, सङ्घसंस्था लगायत सरोकार राख्नुपर्ने पक्षहरू बेखबर भन्ने बुझ्नु पर्दछ । लागुऔषधको बढ्दो समस्या थाहा भएपछि रोकथाम तथा नियन्त्रणमा सरोकारवालाले ठोस पहल कदमी तत्काल लिनुपर्दछ ।