Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
सुदर्शन आचार्य

मंसिर २८, २०७४<   पछिल्ला दिनमा कहाँ र किन चुक्यो, कांग्रेस ?’ संसद्को सबैभन्दा ठूलो र पुरानो दल नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा बेहोरेको पराजयबारे गम्भीर बहस हुन जरुरी छ । आजसम्मका नेपालका ठूलठूला परिवर्तनमा अगुवाइ गरेको कांग्रेसले अहिले एकाएक बेहोर्नुपरेको पराजयभित्र आन्तरिक वा बाह्य कारण नखोज्ने हो भने यथास्थितिमा कांग्रेस चल्दा इतिहासको दराजमा सीमित हुने खतरा ऊसामु प्रस्टै छ । कुनै पनि राजनीतिक दलको मूल्याङ्कन एउटा निर्वाचनबाट मात्र गर्नु उक्त दलका लागि अन्याय होला । तर दलले लिएका नीति र अंगीकार गरेको रणनीतिको निर्मम तरिकाले विश्लेषण नगर्ने हो भने उक्त दल असफलतासँगै विघटन उन्मुख भएर जानेछ । पछिल्लो समय कांग्रेसमा देखापरेको राजनीतिक विचलन भनेको उसले लिने नीतिमा बहस नगर्नु नै हो ।

तत्कालीन अवस्थामा राजनीतिक दलहरूबीच राष्ट्रपति कांग्रेसले लिने सहमति बन्दाबन्दै सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेलको सल्लाहमा कांग्रेस पछाडि हट्यो । त्यहींबाट बाटो बिरायो, कांग्रेसले । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई गिराउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई ओली सरकारबाट बाहिर्‍याउन सफल कांग्रेस र खासगरी कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीबाट दाहाल समेतलाई हटाएर आफैं प्रधानमन्त्री बन्दा ओली–दाहालको पुनर्मिलन पुनस् हुनसक्ने विश्लेषण निकाल्न नसक्नु अर्को भुल हुनगयो । स्थानीय निर्वाचनमा आफ्नै नेतारकार्यकर्ताको भाग खोसेर माओवादी केन्द्रलाई रिझाउन पुग्नुभएका देउवाले दाहाललाई विश्वासमै टिकाइराख्न सक्नुपथ्र्यो । ओलीलाई बिच्क्याउनु र दाहाललाई टिकाउन नसक्नुको परिणति हो, अहिलेको अवस्था ।

पूर्ववतस् समझदारीका नाममा कांग्रेसले सत्ता त प्राप्त गर्‍यो, तर सञ्चालनमा दर्जनौं कमजोरी देखिए । प्रहरी महानिरीक्षक प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीको दोहोरीलाई आम मानिसले नाटकका रूपमा बुझे । जगै हँसाउनेगरी भएको नौटंकीले कालान्तरमा फाइदा नवराज सिलवाललाई मात्रै हुनपुग्यो । भयो के थाहा भएन, तर जनतामा पैसाको खेल भयो भन्ने सन्देश प्रवाह हुनपुग्दा त्यसको अपजसको भागिदार सिंगै कांग्रेस हुनपुग्यो । त्यतिमात्र नभई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथिको महाअभियोगको प्रस्ताव, प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्ताव प्रकरण, राजदूत नियुक्तिजस्ता विषयमा कांग्रेसले गरेको उठान र अवतरणमा खोट देखियो । यिनै प्रकरणका कारण लोकप्रियताको कसीमा कांग्रेस जनतामाझ कमजोर हुनपुग्यो ।

अदालतबाट निर्वाचन सार्ने खेलमा कांग्रेस छ भन्नेजस्ता कडा आरोप कांग्रेसमाथि वाम घटकले लगाउँदा कांग्रेसले आफू दर्जनौंपटक चुनाव हारियोस्, तर लोकतन्त्रको आधार भनेकै निर्वाचन भएकाले कांग्रेस कदापि निर्वाचनबाट भाग्दैन भन्ने जवाफ तत्काल दिन सकेन । आखिर चुनाव भयो, कांग्रेसले पराजय बेहोर्नुपर्‍यो, तर चुनाव हुनुको जश कांग्रेसले कम वाम घटकहरूको खबरदारीले बढी पायो । चुनाव गर्न आफू प्रतिबद्ध रहेको कुरा कांग्रेस नेतत्वले समयमै बुझाउन सकेन ।
मधेसी दलले उठाएका संविधान संशोधनको पक्षमा कांग्रेस उभियो, तर कालान्तरमा मधेसी दलसँग चुनावी तालमेल गर्न पनि कांग्रेस असफल भयो । आफ्नो भोट बैंकको रूपमा चिनिँदै आएको मधेसमा वाम गठबन्धनले मधेसी दलसँग कतिपय ठाउँमा घोषित रूपमै चुनावी तालमेल गर्दासमेत टुलुटुलु हेर्ने बाहेक दोस्रो रणनीति अख्तियार गर्न सकेन कांग्रेसले । मधेसमा कांग्रेस पछाडि पर्नुमा कांग्रेसको रणनीतिमै दोष रह्यो । जनस्तरमा प्रभावै कम भएको दुई राप्रपालाई सरकारमा त ल्यायो कांग्रेसले, तर तिनै राप्रपासँग समेत गरिएको तालमेलमा खोट देखियो ।

राष्ट्रपति पद लिने समझदारीबाट पछि हट्नु, हतारमा केपी ओली सरकारबाट दाहाललाई बाहिर्‍याउनु, बाहिर्‍याए पश्चात आफैंसँग टिकाउन नसक्नु, प्रहरी महानिरीक्षक, लोकमानसिंह कार्की र सुशीला कार्की प्रकरणमा पार्टीको छवि बचाउन नसक्नु, मधेसमा एजेन्डा बोक्नु तर मधेसी दललाई विश्वासमा लिन नसक्नु, अदालतबाट कांग्रेस चुनाव सार्ने खेलमा छ भन्ने अफवाह सम्प्रेषित हुँदा समयमै चिर्न नसक्नु जस्ता कमजोरी त भयो नै, पार्टी सञ्चालन र टिकट वितरणमा समेत दर्जनौं ठाउँमा चुक्यो कांग्रेस । संसदीय समिति बनायो विधान विपरीत । २५र३० जनाको हुलमा त्यो पनि बिना छलफल टिकट बाँडियो । कम्तीमा केन्द्रीय समितिसम्म छलफलका लागि पुर्‍याइएको भए श्रीमान–श्रीमती, भाइ–भतिजा, नातागोता, राजदूत, जागिरे र खरिद–बिक्रीको भरमा टिकट बाँडिने थिएन । आखिर टिकट लिएर गएका कतिपय व्यक्ति देखेर देशदुनियाँ नै हाँस्यो । यस्तो जग–हँसाइबीच कांग्रेसले चुनाव जित्ने आधार कमजोर बन्दै गएको थियो । त्यसको चाल नेतृत्वले कहिल्यै पाएन ।

निर्वाचनका समयमा जनताको घरदैलोमा पुर्‍याउनुपर्ने घोषणापत्र जनताको मन छुने खालको बनाउन सकेन कांग्रेसले । राष्ट्रवाद र समृद्धिको सपना वाम गठबनधनको एकलौटी नारा बन्न पुग्यो । कांग्रेसले चुनावका लागि आकर्षक नारा तय गर्न त सकेन नै, कथित ज्योतिषको भविष्यवाणीलाई बैसाखी बनाएर कांग्रेस सभापति देउवा जिल्ला भ्रमणमा जाँदा नेतृत्वलाई त्यस्ता अभिव्यक्ति घातक हुन्छ भनी समयमै अन्य नेताले सचेत गराउने आँटै गर्न सकेनन् । सरकारमा रहँदा आफूले गरेका कामले व्यापक अलोकप्रिय र आलोचित बन्दै गएका देउवाले पुनस् प्रधानमन्त्री मै भन्दै जाँदा त्यसको प्रत्यक्ष फाइदा वाम गठबन्धनलाई नै हुनपुग्यो ।

सांगठनिक संरचना पनि फितलो देखियो, कांग्रेसको । केन्द्रीय समिति, विभाग, पदाधिकारी पदपूर्तिको त कुरै छाडौं, चुनावका समय दर्जनौं ठाउँमा बम पड्किएर उम्मेदवारहरू घाइते भए । प्रधानमन्त्रीको हैसियतले गृहमन्त्रीसमेत तोक्न सकेनन्, देउवाले । देउवाको सत्तारोहण बाहेक सत्ताबाट हुने अवतरण सधैं पार्टीका लागि दुस्खदायी छ भन्नेहरूलाई गलत सावित गर्ने अवसर देउवालाई यसपटक थियो । तर उनी नराम्ररी चुके । उनी चुक्दा व्यक्तिमात्रै चुकेनन्, सिंगो पार्टी नै चुक्न पुग्यो । यो निर्वाचन कांग्रेसका लागि समीक्षाको विषय बनेको छ । यस्ता निर्वाचन एउटा जीवन्त पार्टीले पटक–पटक बेहोर्दै जाला, तर मूलभूत कुरा के हो भन्दा निर्वाचनसँगै पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमका विषयमा महासमिति बैठक वा विशेष महाधिवेशन बोलाइन्छ कि केन्द्रीय समितिबाटै टार्ने काम हुन्छ, त्यो भने हेर्न बाँकी छ ।

कांग्रेस सभापति देउवाले भन्दै आएझैं वाम गठबन्धनले अधिनायकवादी तानाशाही व्यवस्था लाद्छन् भन्ने हौवा देखाएर त्यसको एकढिक्का भएर प्रतिकार वा विफल पार्ने भन्दै पार्टी्भित्रको र निर्वाचनको विफलताको मूल विषयमा प्रवेश नै नगरी टालटुलमै कांग्रेस चल्न खोजे पार्टी विघटन उन्मुख हुनेछ । जरैदेखि पुनस्संरचना नगरी विद्यमान नेतृत्वले यथास्थितिमै पार्टी अगाडि लैजाने खतरा छ । पार्टीले नराम्रो पराजय भोग्दा पनि गम्भीर समीक्षा नगरी वा कोही कसैले नैतिक जिम्मेवारी नलिई एकअर्कामा दोषारोपण गरेर उम्कन खोजियो भने लामो इतिहास बोकेको पार्टी इतिहासमै सीमित हुने निश्चित छ । तर यसलाई जोगाउनका लागि सुदूर भविष्य बोकेका जुझारु युवा पुस्ताले नेतृत्वलाई सुझबुझपूर्ण दबाब समयमै दिन आवश्यक छ । समयको चाल बुझेर भावी रणनीति तयसँगै असफल नेतृत्वले मार्गसमेत प्रशस्त गर्ने हो भने भोलिको कांग्रेसलाई कसैले कमजोर बनाउन सक्ने छैन । यसका लागि कांग्रेस आन्तरिक रूपमै सुदृढ हुन जरुरी छ । कांग्रेसको उदय र अवसान भनेको फगत एउटा राजनीतिक दलको उदय र अवसानमात्रै होइन, लोकतन्त्र र प्रजातन्त्रसमेत यसको भविष्यसँग जोडिएको छ । किनभने कांग्रेस बलियो हुँदामात्र लोकतन्त्र बलियो हुने हो । कान्तिपुरबाट

तपाईको प्रतिक्रिया