Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २२ चैत २०७९ । चैत २४ गतेबाट प्रदर्शन हुन लागेको चलचित्र ‘प्रसाद २’ को प्रदर्शन रोक्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

छायांकनको समयदेखि विवादमा तानिएको यो चलचित्र निर्माता सुवास थापाले आर्थिक पाटो मिलाउन नसक्दा प्रदर्शनमा रोक लागेको हो ।

चलचित्रका पूर्व निर्माता केशव पाण्डेले आफ्नो पैसा निर्माता थापाले नदिएका कारण फिल्मको प्रदर्शन रोक्न माग राख्दै अदालतमा रिट हालेका थिए । अदालतले यही २६ गते थप सुनुवाईका लागि दुवै पक्षलाई बोलाएको छ ।

अदालत जानुअघि पाण्डेले चलचित्र विकास बोर्डमा पनि उजुरी गर्न खोजेका थिए । तर बोर्डले उजुरी दर्ता नगरेपछि पाण्डे चलचित्रको प्रदर्शन रोक्नुपर्ने माग राखेर उच्च अदालत पुगेका थिए । चलचित्र निर्माण सुरु हुनुअघि नै पाण्डेलाई ‘प्रसाद २’ को निर्माताका रुपमा चिनाइएको थियो । तर, अहिले चलचित्रमा उनको नाम छैन ।

चलचित्र निर्माता थापाविरुद्ध आर्थिक लेनदेन र बैंकिङ कसूर मुद्दामा पक्राउ पूर्जी जारी गरेको छ । थापालाई प्रहरीले खोजिरहेको छ । थापा फरार छन् ।

‘प्रसाद २’ को निर्माता बनाउँछु भनेर थापाले ६२ लाख ५० हजार पैसा लिएको तर, पछि अर्कै निर्माता लिएर चलचित्र बनाए पनि आफ्नो पैसा फिर्ता नगरेको पाण्डेको आरोप छ ।

निर्देशक सुदर्शन थापाले निर्देशन गरेको चलचित्रमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा र महेश त्रिपाठी मुख्य भूमिकामा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया