Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, ८ पुष । अखिल नेपाल फुटबल संघ (एन्फा)ले डिस्को काण्डमा मुछिएका चर्चित खेलाडी बिमल घर्तीमगर सहित चार खेलाडीमाथि गरेको प्रतिबन्धको कारवाहीमा केही सहुलियत दिएको छ । एन्फा अनुशासन समितिले मंगलबार विमल सहित अन्जन बिष्ट, दिनेश राजवंशी र सन्तोष तामाङमाथि गरिएको प्रतिबन्ध २७ दिन घटाएको छ ।

यसअघि एन्फाले विमल र दिनेशलाई ९० दिन तथा अन्जन र सन्तोषलाई ४५ दिनको प्रतिबन्ध सहित जनही ५० हजार रुपैयाँ जरिवानाको कारवाही गरेको थियो । एन्फाले यसअघि खेलाडीको कारबाही प्रक्रिया मंसिर २७ गतेदेखि सुरु हुने जनाएको थियो । एन्फा अनुशासन समितिको निर्णयपछि चार खेलाडीले एन्फाकै अफिल कमिटिमा कारवाही हटाउन अपिल गरेका थिए । त्यसपछि हाल एन्फाले कारवाही प्रक्रिया मंसिर २७ बाट नभएर कात्तिक ३० गतेबाट लागु हुने निर्णय गरेको हो ।

खेलाडीलाई ५० हजार आर्थिक जरिवाना भने कायम नै राखिएको एन्फाले जनाएको छ । नेपालले सन् २०२२ को विश्वकप छनोट अन्तर्गत भुटानमा कुवेतसँग खेल्नु अघिल्लो दिन यी चार खेलाडी क्याम्पबाट भागेर ठमेल र दरबारमार्गका विभिन्न डिस्को र रात्री क्लब गएका थिए । एन्फाको प्रतिबन्ध पछि यी खेलाडीले १३औं दक्षिण एसियाली खेलकुद (साग) सहित शहिद स्मारक ‘ए’ डिभिजन लिग समेत खेल्न पाएका छैनन् । नेपालले यी खेलाडीविनै साग फुटबलको उपाधि समेत रक्षा गरेको थियो ।

तपाईको प्रतिक्रिया