Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

गौरादह, १८ मंसिर । कमल गाउँपालिकामा सञ्चालन भएको स्व.मेजर टंक राई स्मृति ५ औं भेट्रान क्लब फुटबल प्रतियोगितामा आयोजक दमक-लखनपुर भेट्रान क्लबले उपाधि जितेको छ । बुधबार सम्पन्न फाईनल खेलमा आयोजक दमक-लखनपुर भेट्रान क्लबले हाम्रो इटहरी भेट्रान क्लबलाई ० का बिरुद्ध १ गोलले पराजित गर्दै उपाधी उचालेको हो।

दमक लखनपुर भेट्रान क्लबको आयोजना र कमल गाउँपालिकाको कमल खेलकुद विकास समितिको सह आयोजनामा फुटबल प्रतियोगिता संचालन गरिएको थियो। कमल–५ स्थित गुहेश्वरी आधारभूत विद्यालय को खेल मैदानमा सम्पन्न फाइनल खेलमा दमक लखनपुर भेट्रान क्लब र हाम्रो इटहरी भेट्रान क्लब बीच कडा प्रतिस्पर्धा भएको थियो। खेलको निर्धारित समयमा दुबै टिमले गोल गर्ने केहि सुनौला अवसर पाएपनि गोलमा परिणत हुन सकेन।आयोजक टिमका अमर लिम्बुले गरेको गोलनै जितका लागि निर्णायक बनेको थियो।

आयोजक दमक लखनपुर भेट्रान क्लबले इटहरी भेट्रान क्लबलाई १–०गोल अन्तरले पराजित गरेपछि इटहरी भेट्रान क्लबले उपविजेतामै चित्त बुझाएको थियो। जितसंगै विजेता टिमले १ लाख ५ हजार रुपैयाँ र उपविजेताले ५५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन् । मंसिर १५ गते बाट सुरु भएको सो खेलमा ८ वटा टिमले सहभागिता जनाएका थिए ।

खेलमा विभिन्न विधामा उत्कृस्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत पुरस्कृत गरिएको थियो । बेस्ट गोलकिपर छत्रमान कार्की, आजको खेलको गोल किपर युनाइटेड भेट्रान क्लबका सुवास मेचे, बेस्ट डिफेन्डर राम शरण चौधरी, हाइस्कोरर सुवास आङथोपो, म्यान अफ दि सिरिज लोक बहादुर आलेमगर ले ट्रफी मेडल र प्रमाणपत्र पाएका थिए । कमलगाउँपालिका अध्यक्ष मेनुका काफ्लेले खेलाडीहरुलाई पुरस्कार वितरण गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया