Online Bichar
बुधबार, साउन ०६, २०८३ | Wednesday, July 22, 2026

झापा, ६ साउन २०८३ । झापाको दमकमा श्रीमान–श्रीमतीबीच भएको विवादले दुःखद रूप लिँदा दुवै जनाको मृत्यु भएको छ।

बुधबार दिउँसो करिब २ बजे दमक नगरपालिका–१ सिरपाली चोक निवासी ४२ वर्षीय धनबहादुर दर्जी र उनकी ४२ वर्षीया श्रीमती विजयकुमारी दर्जीबीच विवाद भई झै–झगडा भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार झगडाकै क्रममा धनबहादुरले श्रीमती विजयकुमारीमाथि खुकुरी प्रहार गर्दा उनको टाउको र बायाँ हातमा गम्भीर चोट लागेको थियो। घटनापछि धनबहादुरले घरकै अर्को कोठामा सिलिङ पंखामा सलको पासो लगाएर आत्महत्याको प्रयास गरेका थिए।

सोही क्रममा उनीहरूको २५ वर्षीया छोरी प्रियंका दर्जीले बाबुलाई झुण्डिएको अवस्थामा देखेपछि पासो काटेर भुइँमा झारेकी थिइन्। घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक प्रमोद खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले दुवै जनालाई तत्काल उपचारका लागि दमक अस्पताल पुर्‍याएको थियो। तर, दिउँसो करिब ३स्३० बजे चिकित्सकले परीक्षण गर्दा दुवै जनाको मृत्यु भइसकेको घोषणा गरेका थिए।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी दुवै शव पोस्टमार्टमका लागि दमक अस्पतालमै राखिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया