Online Bichar
बुधबार, साउन ०६, २०८३ | Wednesday, July 22, 2026

भारत, ६ साउन २०८३ । जम्मू–कश्मीरको अनन्तनागमा भएको आतंककारी आक्रमणमा ड्युटीमा रहेका एक प्रहरी हवल्दार (हेड कन्स्टेबल) को मृत्यु भएको छ । गस्तीमा रहेको प्रहरी टोलीमाथि अचानक गोली प्रहार हुँदा उनी गम्भीर घाइते भएका थिए ।

सुरक्षा स्रोतहरूका अनुसार, एउटा सवारीसाधनमा आएका आतंककारीहरूले गस्ती गरिरहेको प्रहरी टोलीलाई लक्षित गर्दै अन्धाधुन्ध गोली चलाएका थिए । अमरनाथ यात्राको सुरक्षा ड्युटीमा खटिएका हवल्दार आशिक हुसेन हमलामा घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि अनन्तनाग सरकारी मेडिकल कलेज अस्पताल लगिए पनि चिकित्सकहरूले मृत घोषणा गरेका हुन् । यस हमलाको जिम्मेवारी लश्कर–ए–तैयबासँग सम्बन्धित संगठन ‘द रेजिस्टेन्स फ्रन्ट (टीआरएफ) ले सामाजिक सञ्जालमार्फत लिएको जनाइएको छ ।

व्यस्त बजार क्षेत्रमा दिनदहाडै हमला

घटना बुधबार दिउँसो करिब १२ः३० बजे अनन्तनाग शहरको व्यस्त लाल चौक क्षेत्रमा भएको हो । प्रहरी टोली नियमित गस्तीमा रहेका बेला सवारीसाधनमा आएका आतंककारीहरूले अचानक प्रहरीमाथि गोली वर्षाएका थिए । गोली लागेर एक हेड कन्स्टेबल गम्भीर घाइते भएका थिए । उनका सहकर्मीहरूले तत्काल अस्पताल पुर्‍याए पनि उनको ज्यान जोगाउन सकिएन ।

सुरक्षा बलको कडा कारबाही

घटना लगत्तै प्रहरी, सीआरपीएफ र भारतीय सेनाको संयुक्त टोली घटनास्थलमा पुगेको छ । सुरक्षा बलले लाल चौक तथा वरपरका सम्पूर्ण क्षेत्र घेरा हालेर सबै सम्भावित भाग्ने मार्गहरू बन्द गरेका छन् । हमलाकारीहरूको खोजी तथा पक्राउका लागि व्यापक खोजतलास अभियान सञ्चालन भइरहेको छ । घाटीभर सुरक्षा व्यवस्था थप कडा बनाइएको छ भने सम्बन्धित क्षेत्रमा हाई अलर्ट घोषणा गरिएको छ । प्रशासन र सुरक्षा निकायहरूले अवस्थामाथि निरन्तर निगरानी राखिरहेका छन् ।

किश्तवाडमा आतंककारी सहयोगी पक्राउ
यसअघि मंगलबार जम्मू–कश्मीर प्रहरीले किश्तवाड जिल्लामा विदेशी आतंककारीलाई खानेकुरा तथा सहयोग उपलब्ध गराएको आरोपमा मुख्य अभियुक्तलाई पक्राउ गरेको जनाएको थियो । प्रहरीका अनुसार, यस मुद्दामा गैरकानुनी गतिविधि (रोकथाम) ऐन अन्तर्गत हालसम्म तीन जना कथित आतंककारी समर्थक पक्राउ परिसकेका छन् ।

किश्तवाडका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नरेश सिंहका अनुसार, सिंहपुरको द्वाथेर गाउँ निवासी मोहम्मद रफिक नाइक लाई चटरू क्षेत्रबाट पक्राउ गरिएको हो । उनविरुद्ध यस वर्षको सुरुमै भारतीय न्याय संहिता तथा हतियार ऐन अन्तर्गत विभिन्न कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया