Online Bichar
शनिबार, जेठ ३०, २०८३ | Saturday, June 13, 2026

झापा, २९ जेठ २०८३ । झापाको कनकाई नगरपालिका–३ सुरुङ्गामा लागूऔषधसहित एक ट्रक चालक पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय सुरुङ्गा र ट्राफिक प्रहरी पोस्ट सुरुङ्गाबाट खटिएको संयुक्त चेकिङ टोलीले शुक्रबार बिहान करिब ९ः३० बजे सर्लाहीबाट बिर्तामोडतर्फ आउँदै गरेको इँटा लोड गरिएको ना.७ ख ७७८९ नम्बरको ट्रक रोकी जाँच गर्ने क्रममा चालकलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–११ निवासी ३१ वर्षीय राजकुमार कार्की रहेका छन्।

प्रहरीका अनुसार चालक कार्कीको साथबाट ६ ग्राम १०० मिलिग्राम गाँजा र २ क्याप्सुल ट्रामाडोल बरामद गरिएको छ। साथै लागूऔषध सेवन परीक्षण गर्दा उनको नतिजा पोजिटिभ आएको प्रहरीले जनाएको छ।

प्रहरीले चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनी पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

तपाईको प्रतिक्रिया