काठमाडौं, २८ जेठ २०८३ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पूर्वस्वीकृति नलिई विश्वकप फुटबल सामूहिक रूपमा ठूलो पर्दामा प्रत्यक्ष प्रसारण नगर्न भनेको छ ।
जिप्रका काठमाडौंले बिहीबार एक सूचना जारी गर्दै पूर्वस्वीकृति नलिई प्रत्यक्ष प्रसारण गरेर भिड जम्मा नगर्न भनेको हो । फिफा विश्वकप जेठ २९ गतेबाट सुरु हुँदैछ ।
“फिफा विश्वकप फुटबल २०२६ का खेलहरू काठमाडौं जिल्लाभित्र सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने कुनै पनि संघरसंस्था वा कम्पनीले यस कार्यालयबाट पूर्वस्वीकृति नलिई रातको समयमा ठूलो पर्दामा खेल देखाउने बहानामा भिड जम्मा गरी समुदायमा असर पर्ने एवम् शान्ति सुरक्षा खलबल्याउने गतिविधि नगर्नरनगराउन सम्बद्ध सबैलाई जानकारीको लागि अनुरोध छ,” सूचनामा भनिएको छ ।
खेलको प्रत्यक्ष प्रसारण गर्न स्वीकृतिको लागि निर्धारित निवेदनको ढाँचा कार्यालयको वेबसाइटमा रहेको जनाइएको छ ।
“उक्त निवेदनमा उल्लेखित सर्तहरूको अधिनमा रही यस्तो संघरसंस्था वा कम्पनी रहेको स्थान तथा सुरक्षा संवेदनशीलतालाई विश्लेषण गरी अनुमति दिइनेछ,” जिप्रका काठमाडौंले भनेको छ ।
सूचनाको अवज्ञा गरी कोही कसैले स्वीकृति बेगर रातको समयमा फिफा विश्वकप फुटबल २०२६ को प्रत्यक्ष प्रसारणको नाममा भिडभाड गर्ने तथा अमर्यादित, उच्छृंखल, अवाञ्छित एवम् गैरकानुनी क्रियाकलाप गरेको सूचना प्राप्त भएको खण्डमा तत्काल प्रचलित कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।






