काठमाडौं, २३ वैशाख २०८३ । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्का १९ जना सदस्यहरू पदमुक्त भएको जानकारी दिएको छ । मन्त्रालयकी प्रवक्ता मनिता श्रेष्ठले ‘मन्त्रालयले सार्वजनिक पदाधिकारीहरूको पदमुक्ति’ सम्बन्धी सूचना जारी गर्दै उनीहरू पदमुक्त भएको जनाएकी हुन् ।
उपाध्यक्ष ध्रुव आचार्य पनि पदमुक्त भएका छन् । यद्यपि उनले यसअघि नै राजीनामा दिइसकेको बताइएको थियो । अरू सदस्यहरूमा नन्दा बस्याल, जगतसिंह धामी, सुवर्ण श्रेष्ठ, शान्तिकुमारी चौधरी, आनन्दकुमार झा, हिमालकुमार श्रेष्ठ, कमलबहादुर भट्टराई, भानबहादुर चन्द, अञ्जना श्रेष्ठ, डा. मधुसुदन सुवेदी, रामचन्द्र श्रेष्ठ, रञ्जना प्रधान, विदुर ढुंगाना, प्रयास कार्की, कुमार लामा घिसिङ, रोजेश खड्का, सन्तकुमार मेहता र जगतबहादुर टमाटा छन् ।
सरकारले अध्यादेशमार्फत सबै राजनीतिक नियुक्ति खारेज गरेपछि १ हजार ५९४ पदाधिकारी एकमुष्ट पदमुक्त हुँदा राखेपका पदाधिकारी पनि पदमुक्त भएका हुन् । यी पदाधिकारीहरूको बहिर्गमनसँगै राखेपको आधाभन्दा बढी बोर्ड रिक्त हुन पुगेको छ ।
गत शनिबार राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३’ जारी गरेपछि १ हजार ५९४ पदाधिकारी पदमुक्त हुन पुगेका थिए । जसमा राखेप पदाधिकारीहरू पनि समावेश थिए ।
सरकारले सम्बन्धित कार्यालयमा भएको रिक्तता अर्को नियुक्ति नभएसम्म कार्यालयको वरिष्ठ कर्मचारीले कायममुकायम भएर काम गर्ने जनाएको छ ।
राष्ट्रिय खेलकुद ऐन २०७७ मा भएको व्यवस्थाअनुसार सदस्यसचिवले कुनै निर्णय गर्नुपर्दा कार्यकारी बोर्डबाट पारित गराउनुपर्ने हुन्छ । कार्यकारी समितिमा सातजना सदस्य रहने गर्छन् । त्यसमध्येमा भानबहादुर चन्द, कमल भट्टराई, रञ्जना श्रेष्ठ र सुवर्ण श्रेष्ठ गरी चारजना पदमुक्त भएपछि अब बोर्डमा ३ सदस्य मात्र बाँकी छन् ।
राखेप सदस्य सचिवको नेतृत्वमा रहने टिममा राखेप प्रशासन विभागका प्रमुख समितिको सदस्यसचिव हुने प्रावधान छ भने युवा तथा खेलकुद मन्त्रालयको खेलकुद महाशाखाका प्रमुख सदस्य रहेका छन् ।
कार्यकारी समितिका चारजना पदमुक्त भएपछि राखेप सदस्य सचिव रामचरित्र मेहता एक्लिएका छन् । यद्यपि उनले रिक्त रहेको पदमा चाँडो भन्दा चाँडो पदपूर्ति गर्ने बताएका छन् ।






