काठमाडौं, १६ वैशाख २०८३ । साउदी अरेबिया सरकारले त्यहाँ अवैध रूपमा रहेका १३६ जना नेपाली नागरिकलाई ‘एक्जिट भिसा’ प्रदान गरेको छ। रियादस्थित नेपाली दूतावासको पहलमा उनीहरूलाई स्वदेश फर्कन सहज बनाइएको हो।
दूतावासले जारी गरेको सूचनामा एक्जिट भिसा प्राप्त गरेका सबैलाई यथाशीघ्र नेपाल फर्कन अनुरोध गरिएको छ। ‘इक्मा’ (आवासीय अनुमति पत्र) को म्याद सकिएर अवैध बनेका कामदारलाई लक्षित गरी साउदी सरकारले उक्त सुविधा दिएको जनाइएको छ।
इक्मा अवधि समाप्त भई नेपाल फर्कन चाहने नेपालीले दूतावासमा उपस्थित भई तीन पानाको सिफारिसपत्र लिनुपर्नेछ। मोबाइलमा एक्जिट भिसाको सन्देश प्राप्त नभएको अवस्थामा दूतावासमा सम्पर्क गरी आफ्नो भिसा कागजात लिन आग्रह गरिएको छ।
यद्यपि, मोबाइलमै एक्जिट भिसा आएको सन्देश प्राप्त भइसकेकाहरूले सोही सन्देश एयरपोर्टमा देखाएर यात्रा गर्न सक्ने दूतावासले स्पष्ट पारेको छ। दूतावासका अनुसार एक्जिट भिसा प्रक्रिया निःशुल्क हुने भए पनि नेपाल फर्किने हवाई टिकट भने सम्बन्धित व्यक्तिले आफैं व्यवस्था गर्नुपर्नेछ।






