काठमाडौं, १५ वैशाख २०८३ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार (वैशाख १६) देशका विभिन्न भागमा तीव्र गतिको हावाहुरी चल्ने पूर्वानुमान गर्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणका अनुसार कोसी प्रदेशका मोरङसहित आसपासका जिल्ला, मधेस प्रदेशका धनुषा र बारासहितका क्षेत्र, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची तथा सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटीसहितका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको छ।
विभागले दिएको जानकारीअनुसार बुधबार साँझ ५:४५ बजेदेखि सुरु हुने हावाहुरी १७ गते बिहान ७:४५ बजेसम्म कायम रहने अनुमान गरिएको छ। साथै मेघगर्जन, चट्याङ, असिना र वर्षासहितको मौसम प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने सम्भावना रहेको पनि जनाइएको छ।
तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना भत्किने, घरका छाना उड्ने तथा विद्युत् र सञ्चार सेवा प्रभावित हुन सक्ने जोखिम रहेको प्राधिकरणले जनाएको छ।
संभावित जोखिमबाट जोगिन प्राधिकरणले सर्वसाधारणलाई सकेसम्म घरबाहिर ननिस्कन, झ्यालढोका मजबुत रूपमा बन्द गर्न, कमजोर छाना बलियो बनाउन, आगो बाल्दा सावधानी अपनाउन तथा अग्ला रुख, खम्बा र विद्युत् तारनजिक नबस्न आग्रह गरेको छ।
त्यसैगरी, लत्रिएको बिजुलीको तार नछुन, हावाले उडाएर ल्याएका वस्तुबाट बच्न र मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउँदै सचेत रहन पनि अनुरोध गरिएको छ।






