सङ्खुवासभा, १४ वैशाख २०८३ । सङ्खुवासभाको मादी नगरपालिका–५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय च्याङरीङका प्रधानाध्यापक डम्मरुप्रसाद दाहालमाथि कार्यकक्षमै हातपात भएको छ।
घटनामा संलग्न भएको आरोपमा सोही विद्यालयका शिक्षक सोमनाथ दाहाल (५५) र लेखा कर्मचारी लेखकुमारी भट्टराई (५४) लाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार वैशाख ९ गते विद्यालय व्यवस्थापन समितिलाई पूर्णता दिन शिक्षक प्रतिनिधि छनोट गर्ने क्रममा प्रधानाध्यापक र शिक्षकबीच विवाद उत्पन्न भएको थियो। उक्त विवाद उग्र बन्दै जाँदा कार्यकक्षमै हातपात भएको हो। विवादका क्रममा निर्णयसम्बन्धी कागजातसमेत च्यातिएको बताइएको छ।
घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्यसमितिले विज्ञप्ति जारी गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ। जिल्ला अध्यक्ष कृष्णबहादुर चापागाई र सचिव टेकबहादुर रायले हस्ताक्षर गरेको विज्ञप्तिमा यस्ता अवाञ्छित गतिविधि तत्काल रोक्न आग्रह गरिएको छ।
त्यस्तै, संगठनको मादी नगर समितिका अध्यक्ष मातृकाप्रसाद दाहालले पनि घटनाको भर्त्सना गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय चैनपुरको हिरासतमा राखिएको छ। उनीहरूमाथि थप अनुसन्धान गर्न ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।






