Online Bichar
शुक्रबार, बैशाख ११, २०८३ | Friday, April 24, 2026

काठमाडौं, ११ वैशाख २०८३ । नेपाल मेडिकल काउन्सिलले १७ जना चिकित्सकको नाम दर्ता खारेज गरेको छ। नेपाली नागरिकता परित्याग गरी विदेशी नागरिकता तथा राहदानी लिएको पुष्टि भएपछि उनीहरूको नाम काउन्सिलको दर्ता किताबबाट हटाइएको हो।

काउन्सिलले शुक्रबार जारी गरेको सूचनाअनुसार नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नेपाल मेडिकल काउन्सिल नियमावली २०२४ र नेपाल नागरिकता ऐन २०६३ बमोजिम दर्ता खारेज गर्ने निर्णय गरिएको हो। उक्त निर्णय सूचना प्रकाशित भएकै मितिदेखि लागू भएको जनाइएको छ।
दर्ता खारेज गरिएका चिकित्सकहरूले बेलायत, अमेरिका, अष्ट्रेलिया, क्यानडा, हङकङ, पोर्चुगल र भारतको नागरिकता लिएको पुष्टि भएको काउन्सिलले जनाएको छ।

नाम हटाइएका चिकित्सकहरूमा डा. शर्मिला गुरुङ, डा. रोशन भुषाल, डा. मोति गुरुङ, डा. देवराज रेग्मी, डा. मेरिना गुरुङ, डा. निरन्जन देव पाण्डे, डा. रोजन केसी, डा. ममता गुरुङ, डा. राजिब हमाल र डा. सलुजा सिंह थारू रहेका छन्।
त्यसैगरी डा. सुजना के.सी., डा. जोस्ना शाही, डा. मनिषा हमाल, डा. सुप्रिया शाक्य, डा. इच्छा न्यौपाने, डा. दिपेन ढकाल र डा. तुषार सरवजनाको पनि दर्ता खारेज गरिएको छ।

कानुनी व्यवस्थाअनुसार नेपाली नागरिकका रूपमा काउन्सिलमा दर्ता भएका चिकित्सकहरूले विदेशी नागरिकता लिएपछि उनीहरूको पुरानो दर्ता स्वतः अवैध हुने व्यवस्था रहेको छ।

तपाईको प्रतिक्रिया