काठमाडौं, ११ वैशाख २०८३ । कम्बोडियामा विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा नौ जना नेपालीलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएको हो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार पक्राउ परेकामध्ये पाँच जनालाई संगठित ठगी ९अनलाइन स्क्याम० को आरोपमा कानुनी कारबाहीका लागि अदालतमा पेस गर्ने तयारी भइरहेको छ । बाँकी चार जनामाथि शरीर बन्धक बनाउने तथा हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोपमा अनुसन्धान भइरहेको छ ।
यसअघि पनि पाँच नेपाली पक्राउ परेका थिए । यससँगै कम्बोडियामा पक्राउ परेका नेपालीको संख्या १४ पुगेको छ । प्रवक्ता क्षेत्रीले एजेन्टको प्रलोभनमा परेर धेरै नेपाली दक्षिणपूर्वी एसियाली मुलुकहरू कम्बोडिया, म्यानमार, थाइल्यान्ड र लाओस पुगेको र त्यहाँ अनलाइन ठगी गर्ने केन्द्रहरूमा काम लगाइने गरेको बताए ।
सन् २०२१ यता मात्र करिब २१ हजार नेपाली कम्बोडिया पुगेको र उनीहरूमध्ये धेरैलाई यस्ता अवैध गतिविधिमा प्रयोग गरिएको हुन सक्ने अनुमान गरिएको छ । हालसम्म दक्षिणपूर्वी एसियाली देशहरूबाट ६१२ नेपालीको उद्धार गरी नेपाल फर्काइएको मन्त्रालयले जनाएको छ । थप ५३ जनालाई उद्धार गरी स्वदेश ल्याउने तयारी भइरहेको छ ।






