Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

काठमाडौं, १० वैशाख २०८३ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत हुने त्रिदेशीय सिरिजका लागि टिकट दर सार्वजनिक गरेको छ।

क्यानले नेपाल, यूएई र ओमानबीच शनिबारबाट सुरु हुने प्रतियोगिताका लागि टिकट मूल्य ४०० रुपैयाँ निर्धारण गरेको जनाएको छ। यद्यपि, यूएई र ओमानबीच हुने खेलका लागि भने टिकट दर १०० रुपैयाँ कायम गरिएको छ।

यसअघि लिग-२ अघि आयोजना गरिएको नेपाल र यूएईबीचको अन्डर लाइट्स टी-२० अन्तर्राष्ट्रिय शृङ्खलामा टिकट दर ७५० रुपैयाँ राखिएको थियो। महँगो टिकटदरकै कारण कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दर्शक उपस्थिति न्यून भएको भन्दै आलोचना भएको थियो।
सोही प्रतिक्रिया ध्यानमा राख्दै क्यानले यसपटक टिकट दर घटाएको हो। सामाजिक सञ्जालमार्फत टिकटदरबारे सुझाव माग्दा धेरै दर्शकहरूले सस्तो मूल्य कायम गर्न आग्रह गरेका थिए।

यसैबीच, विश्वकप लिग-२ अन्तर्गत नेपालको खेल तालिका यसप्रकार रहेको छः

वैशाख १२ गते: नेपाल-यूएई

वैशाख १६ गते: नेपाल-ओमान

वैशाख १८ गते: नेपाल-यूएई

वैशाख २२ गते: नेपाल-ओमान

क्यानले टिकट दर समायोजनसँगै यसपटक रंगशालामा दर्शकको उपस्थिति बढ्ने अपेक्षा गरेको छ।

तपाईको प्रतिक्रिया