Online Bichar
आइतबार, बैशाख ०६, २०८३ | Sunday, April 19, 2026

काठमाडौं, २ वैशाख २०८३ । राष्ट्रिय पञ्जीकरणका विभिन्न सूचना तथा सेवाहरूलाई नागरिक एपमा एकीकृत गर्ने प्रक्रिया अघि बढाइएको छ। सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साहका अनुसार जन्म दर्ता, विवाह दर्ता, सम्बन्ध विच्छेद दर्तालगायतका पञ्जीकरणसम्बन्धी विवरणलाई एकीकृत प्रणालीमा जोड्ने काम प्रारम्भिक चरणमा पुगेको छ।

यो प्रणाली कार्यान्वयनमा आएपछि जन्मदर्ता, विवाह दर्ता जस्ता प्रमाणपत्रहरू नागरिक एपमार्फतै डिजिटल रूपमा प्राप्त गर्न सकिनेछ।

सरकारले डिजिटल सुशासनलाई सुदृढ गर्ने लक्ष्यसहित नागरिक सेवाहरूलाई अनलाइन बनाउने अभियानलाई तीव्र बनाएको छ। सोही अन्तर्गत निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोक सेवा आयोगका परीक्षार्थीको प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) पनि नागरिक एपबाट उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको छ।

त्यसैगरी नेपाल इन्जिनियरिङ परिषद्सँगको समन्वयमा व्यावसायिक इन्जिनियर प्रमाणपत्र पनि नागरिक एपमार्फत उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ४५ दिनभित्र थप सेवा सञ्चालनमा ल्याउने लक्ष्य राखेको भए पनि मन्त्री विक्रम तिमिल्सिनाले तोकिएको समयभन्दा अघि नै काम सम्पन्न गर्न निर्देशन दिएका छन्।

यस पहलले सरकारी सेवा प्रवाहलाई डिजिटल, छरितो र सहज बनाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया