गौरादह, १ कार्तिक । गौरादहमा संचालन भईरहेको झापा जिल्ला अन्तर पालिका मेयर कप पुरुष भलिबल प्रतियोगितामा शुक्रबार(आज) सेमिफाईनलका खेलहरु सम्पन्न भएका छन। खेलकुद बिकास समिति गौरादहले आयोजना गरेको भलिबल खेलमा गौरादह र दमकले फाईनलमा स्थान सुरक्षित गरेका छन।
भलिबल खेलको पहिलो सेमिफाईनल खेलमा गौरादह नगरपालिकाले कमल गाउपालिकालाई सोझो सेटमा पराजित गरेको छ। जनता मा.वि गौरादहको खेल मैदानमा सम्पन्न पहिलो सेमिफाईनल खेलमा गौरादहले कमललाई २५–२०, २५–१५ र २५–२२ को सेटमा पराजित गरेको हो।
आजै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा दमक नगरपालिकाले झापा गाउँपालिकालाई २५–२२, २५–१४ र २५–१६ को सेटमा पराजित गरेको छ।
अघिल्लो दिन भएको क्वार्टर फाईनल खेलमा बिर्तामोड सँग झापा गाउँपालिका पराजित भएपनि बिर्तामोडले बाहिरी खेलाडी प्रवेश गराएको निवेदन परेपछि बिर्तामोडलाई हटाई झापा गाउँपालिकालाई सेमिफाइनल खेलमा स्थान दिईएको थियो।
शनिवार गौरादह र दमक नगरपालिका बिच फाईनल खेल हुने आयोजकका संयोजक हेमन्त कार्कीले जानकारी गराए ।






