Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा÷ व्यवसायीक र आधुनिक खेती तर्फ किसानहरुको आकर्षण बढेसँगै उन्नत बीउ विजनको प्रयोग बढेको छ । झापाका किसानहको कृषि प्रतिको बढ्दो आकर्षणकै कारण पहिलो पटक समुदाय स्तरबाट बीउ प्रशोधन केन्द्र सञ्चालनमा आएको छ ।

झापाको गौरादह नगरपालिका वडा नं ७ मा पर्ने महारानीझोडा सानाकिसान कृषि सहकारी संस्थाले आधुनिक प्रविधिबाट विभिन्न कृषि बालीको बीउ विजन प्रशोधन गर्ने उद्योगनै सञ्चालनमा ल्र्याको हो । यस बीउ विजन प्रशोधन तथा भण्डारणका मुख्य व्यवस्थापक हेमराज विष्टका अनुसार सो केन्द्रले २०७२ माघदेखि बीउ विजनको प्रशोधन शुरु गरे पछि माग क्षमता अनुसार अझै सञ्चालन हुन सकेको छैन ।

हाल १४ कठ्ठा जग्गामा स्थापना गरिएको सो बीउ विजन केन्द्रमा आवश्यक उपकरण खरिद तथा भौतिक संरचना निर्माणमा सरकारले ८० प्रतिशत अनुदान उपलब्ध गराएको जनाइएको छ । यहाँ बीउ विजन प्रशोधनका लागि ७० लाख रुपैयाँको लागतमा आधुनिक मेसिन ल्याइएको छ । बीउ विजन केन्द्र कूल २ करोड ९५ लाख रुपैयाँको लगानीमा निर्माण भएको हो ।

माग धान्नै मुस्किल

सहकारी संस्थाले पूर्वी भेगका किसानहरुलाई कृषि बालीका लागि उन्नत जातका बीउविजन उत्पादन तथा प्रशोधन गर्ने उद्देश्यले स्थापना गरेको यो केन्द्रमा आधुनिक किसिमका उपकरणहरु रहेका छन् । जसका माध्यमबाट धान, गहुँ, तोरी, मकै र घाँसको बीउ प्रशोधन गर्ने गरिएको व्यवस्थापक विष्टले जानकारी दिए । उनका अनुसार सो केन्द्रमा संस्थाले गौरादह ४ मा लिजमा लिएर खेतीपाती गर्दै आएको गौरादह ४ र ५ को एक सय विगाहामा बीउ उत्पादनका लागि लगाइएका बालीको प्रशोधन गरिँदै आएको छ । सो केन्द्रले गत वर्ष मात्रै धानको बीउ २ सय ८० , जै घाँस १६, तोरी २ र गहुँ ३२ मेट्रिक टन बीउ प्रशोधन गरी बजारमा पु¥याएको थियो । आगामी वर्षदेखि मकैको बीउ समेत प्रशोधनका लागि तयारी भइरहेको छ ।

शुरुवाती समयमा स्थानीय किसानहरुलाई आपूर्ती गरिएको बिउको माग बढ्दै गए पछि झापा, मोरङ् तथा सुनसरीका बजार सम्म यहाँबाट प्रशोधित बिभिन्न बालीका बिउ पुग्ने गरेका छन् । ईलाम, पाँचथर, सप्तरी, सिरहा लगायतका जिल्लाबाट पनि उन्नत र प्रशोधित बिउहरुको माग भए पनि आपूर्ती गर्न कठिन भई रहेको व्यवस्थापक बिष्टले बताए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

उत्पादन बढाउन अनुदान
प्रशोधित बालीका बीउको माग उच्च भएपछि प्रशोधन केन्द्रले किसानलाई उत्पादन बृद्धीमा प्रोत्साहन गर्न अनुदान पनि प्रदान गर्दै आएको छ । किसानलाई पहिलो पुस्ताको बिउ उपलब्ध गराई त्यसबाट उत्पादिन सवै उत्पादन प्रशोधन केन्द्रले खरिद गर्ने गरेको छ । किसानबाट खरिद गरिएका बालीनै बिउका लागि प्रशोधन गर्ने गरिएको छ । यसका लागि संस्थाले किसानलाई खेती र बिक्रिमा अनुदान दिने गरेको छ ।

१० कट्ठा भन्दा बढि क्षेत्रफलमा जैघाँस खेती गर्ने किसानलाई गत वर्ष प्रति कट्ठा २ सय रुपैयाँ अनुदान उपलव्ध गराईएको थियो । यस वर्ष भने ५ कट्ठा भन्दा बढि खेती गर्नेलाई प्रति कट्ठा १ सय र उत्पादनमा प्रतिकिलो ३ रुपैयाँ अनुदानको व्यवस्था गरिएको छ । माग बढि भएका बालीको बिउ उत्पादनलाई प्रोत्साहन गर्न अनुदानको व्यवस्था गरिएको ।

सहकारीको आफ्नै खेती
किसानलाई व्यवसायीक खेती तर्फ प्रोत्साहन गर्न र बढ्दो बिउमागको बजार धान्न सहकारी संस्थाले आँफै किसानहरुलाई संगठित गराई सामुहिक खेती समेत गर्दै आएको छ । हाल दुई स्थानमा गरि करिव १ बिगाहा जमिनमा सामुहिक खेती गरिएको सहकारी संस्थाका व्यवस्थापक चिरन्जीवि भण्डारीले बताएका छन् । सामुहिक खेतीमा समावेश किसानले आफ्नो जमिनबाट उत्पादित उपजको निश्चित परिणाम पनि पाउँछन् भने बाँकि उपज बिउ प्रशोधनका लागि संस्थालेनै खरिद गर्ने गरिएको छ । सामुहिक खेती गर्दा यन्त्र तथा उपकरणहरुको प्रयोग गर्न सजिलो हुने, लागत न्युनिकरण हुने र उपज बिक्रिका लागि बजारको समेत समस्या नभएकाले सामुहिक खेतीमा किसानको आकर्षण बढि रहेको भण्डारीले बताएका छन् ।

किसानले आँफै गर्ने थोरै थोरै खेतीमा यन्त्र तथा औजारहरुको प्रयोगमा कठिनाई हुने तर सामुहिक रुपमा गर्दा सहज र व्यवस्थित हुने गरेको संस्थाकी अध्यक्ष मीना ढकालको अनुभव छ । संस्थाले मेशिन मार्फतनै धान रोप्ने, माटोको उपचार गर्ने, बोरीङ्को बन्दोबस्ति मिलाउने लगायतका काम गरि किसानहरुलाई आधुनिक खेती तर्फ डो¥याएको उनले बताएका छन् । कृषिमा आधुनिकता बढे पनि उन्नत बिउको अभाव हुने र नेपाल आत्मनिर्भर समेत हुन नसकेकाले बिउको आयात प्रतिष्थापनमा सहयोग पु¥याउन बिउ प्रशोधन केन्द्र सञ्चालनमा ल्याएको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया