झापा, ३ मंसिर २०८३ । आसन्न निर्वाचनमा कोशी प्रदेशको मुख्यमन्त्री हत्याउने दाउमा रहेको श्रम संस्कृति पार्टीले झापाको १५ वटा पालिकाको १३१ वटै वडामा उम्मेदवारी दिने भएको छ ।
१५ वटै पालिकामा प्रमुख र उपप्रमुखरअध्यक्ष र उपाध्यक्षसहित सबै १३१ वटा वडामा उम्मेदवारी दिने गरी तयारी शुरु गरिएको पार्टी स्रोतले जनाएको छ । ‘निर्वाचनको लागि छलफल मात्र शुरु गरिएको हो ’ स्रोतले भन्यो ,‘ तयारीका क्रममा निर्वाचनको सम्मुखमा मात्र उम्मेदवार घोषणा गर्छौ ।’कुनै पनि राजनीतिक दलसंग चुनावी गठबन्धन नगर्ने पार्टीको रणनीति रहेको छ ।
अगाडि नै उम्मेदवार घोषणा गर्दा विवाद आउने भएकाले निर्वाचनको केही दिनअगाडि मात्र उम्मेदवारी घोषणा गरिने एक केन्द्रीय स्तरका नेताले बताए । आफ्नो जनमत विस्तार गर्दै लगेको श्रम संस्कृति पार्टीले झापाको ७ वटा पालिका जित्ने दावी गरेको छ । पार्टीले मेचीनगर , शिवसताक्षी, बुद्धशान्ति ,अर्जुनधारा , कमल , कचनकवल, हल्दिवारीलाई आफ्नो पकड क्षेत्र मानेको छ । त्यस्तै बिर्तामोड-१० मा पनि बलियो उपस्थिति रहेको दावी गरेको छ ।
एक जमानामा कम्युनिष्टहरुको लाल किल्ला रहेको झापा जिल्लालाई यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीले निलो किल्ला बनाएको छ । गत फागुन २१ गतेको निर्वाचनमा पाँचवटै क्षेत्र जितेर रास्वपाले राजनीतिक रुपमा आवाद गरिरहेको झापामा श्रम संस्कृति पार्टीले पनि आफ्नो लागि उर्वर बनाउँदै लगेको हो ।
गत फागुन २१ गतेको निर्वाचनमा चौथो शक्ति बनेको श्रम संस्कृति पार्टीको त्यसयताको माहौल अझ उत्साहजनक देखिएको छ । संगठन सुदृढीकरणमा श्रम संस्कृति पार्टी बलियो बन्दै गएको हो । जुन कुरालाई पार्टीको कार्यक्रमहरुमा देखिएको वृहत सहभागिताले प्रमाणित गरेको छ । श्रम संस्कृति पार्टीमा प्रवेश गर्नेहरुको लहरले आगामी स्थानीय तहको निर्वाचनमा अझ बढी सफलता हासिल गर्ने अनुमान गरिएको छ । श्रम संस्कृति पार्टीलाई माया र विश्वास गरेको देख्दा आफूहरु हर्षित र उत्साहित भएको जिल्ला अध्यक्ष केशव भण्डारीले बताए ।
जिल्ला अध्यक्ष भण्डारी निर्वाचनमा नउठ्ने
श्रम संस्कृति पार्टीका जिल्ला अध्यक्ष केशव भण्डारी आसन्न स्थानीय तहको निर्वाचनमा नउठ्ने भएका छन् । बिर्तामोड निवासी अध्यक्ष भण्डारी आफै नउठेर अरुलाई उठाएर जिताउने भूमिकामा रहने बुझिएको छ । बिर्तामोड नगरपालिकामा नगर प्रमुखको उम्मेदवार बन्न तीनजना आकांक्षी देखिएका छन् । तीनै संभावित अनुहारमध्ये एकजनालाई टिकट दिइने पार्टी स्रोतले जनाएको छ ।






