भद्रपुर, ९ असोज २०८३ । झापाको भद्रपुरमा अनलाइन स्क्याम (ठगी) धन्दा चलाएको आरोपमा दुई भारतीय नागरिकसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–६ का कुन्दन जयसवालसहित दुई जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई शुक्रबार साँझ करिब साढे ५ बजेको समयमा भद्रपुर नगरपालिका–६ स्थित भानुचोकबाट पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरको संयुक्त प्रहरी टोलीले जयसवालको घरमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको जनाइएको छ। छापा मार्ने क्रममा प्रहरीले केही थान कम्प्युटर सेटलगायत डिजिटल माध्यमबाट ठगी गर्न प्रयोग भएको हुनसक्ने सामग्रीहरूसमेत बरामद गरेको छ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले मानिसहरूलाई झुक्क्याएर आर्थिक ठगी गर्ने तथा डिजिटल प्रविधिको प्रयोग गरी व्यक्तिका गोप्य विवरण प्राप्त गर्ने गतिविधिमा संलग्न रहेको आशङ्का गरेको छ। बरामद सामग्रीको प्राविधिक परीक्षण तथा अनुसन्धानपछि घटनाको वास्तविक जानकारी गराउने प्रहरीले जनाएको छ ।
अनलाइन स्क्याम भन्नाले इन्टरनेट, सामाजिक सञ्जाल, मोबाइल एप, इमेल वा अन्य डिजिटल माध्यम प्रयोग गरी व्यक्तिलाई झुक्क्याएर पैसा वा महत्त्वपूर्ण व्यक्तिगत विवरण हत्याउने गर्छन् । यस्ता ठगी गर्ने समूहले नक्कली वेबसाइट, सामाजिक सञ्जाल अकाउन्ट, मोबाइल नम्बर, इमेल वा विभिन्न आकर्षक प्रस्ताव प्रयोग गरी सर्वसाधारणलाई आफूतिर आकर्षित गर्ने र त्यसपछि बैङ्क खाता, ओटीपी, पासवर्ड, कार्डको विवरण, नागरिकता वा अन्य व्यक्तिगत जानकारी माग्ने, नक्कली लिंक पठाउने, अनलाइन रोजगारी वा लगानीको प्रलोभन दिने तथा पुरस्कार वा उपहार परेको भन्दै रकम माग्नेजस्ता तरिका अपनाएर ठगी गर्ने गरेको जनाइएको छ । टाईम्स अफ प्रदेशबाट






