जेबि खड्का
गौरादह, १५ भदौ २०८३ । झापाको गौरादहमा पहिलो पटक हुन गइरहेको महिला फुटबल प्रतियोगिताको ट्रफी र खेल तालिका सोमबार सार्वजनिक गरिएको छ। जनता माध्यमिक बिद्यालयको खेलमैदानमा संचालन गरिने खेलको सोमबार पत्रकार सम्मेलन गरि खेल तालिका सार्वजनिक गरिएको हो।
पत्रकार सम्मेलनमा स्पर्श सामाजिक युवा क्लबका अध्यक्ष उज्ज्वल दाहाल र कार्यक्रम संयोजक युवराज खड्काले प्रतियोगिताको उद्देश्य, तयारी तथा सञ्चालन प्रक्रियाबारे जानकारी गराएका थिए। आयोजकका अध्यक्ष दाहालले गौरादह क्षेत्रमा रहि फुटबल खेल्न ईच्छुक महिलाहरुलाई फुटबल खेलमा प्रोत्साहन गर्न महिला फुटबल आयोजना गरिएको बताएका थिए। खेल सम्योजक खड्काका अनुसार प्रतियोगितामार्फत महिला फुटबलको विकास र स्थानीय क्षेत्रमा रहेका महिला खेलाडीको खेल प्रतिभालाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको बताएका थिए ।
स्पर्श सामाजिक क्लब गौरादहले आयोजना गर्ने फुटबल खेल यही भदौ १९ गतेदेखि २८ गते सम्म संचालन हुने आयोजकले जनाएको छ। फुटबल खेल बिद्यालयको प्राङ्गणमा संचालन गरिने भएकाले बिद्यार्थीको पढाइमा असहज नहुने गरि अपराह्न ४ बजेदेखि खेल सञ्चालन हुने आयोजकले जनाएको छ। स्पर्श क्लबका आयोजनामा संचालन हुने महिला फुटबलमा भारतको एक टिम सहित जम्मा ८ टिमको सहभागीता रहने आयोजकले जनाएको छ। गौरादह क्षेत्रमा रहेका महिलाहरुलाई फुटबल खेल प्रति आकर्षण बढाउने अपेक्षा गरिएको छ। पत्रकार सम्मेलनमा दुर्गा गौतम, तारा कुमार श्रेष्ठ र रामकाजी कटुवालले शुभकामना मन्तब्य राख्दै खेलको पुर्ण सफलताको कामना गरेका थिए।






