झापा, ११ भदौ २०८३ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा झापाका ११ जना बेपत्ता भएका छन् । झापाका ९ जना रसुवाको बाढीमा परेको भन्दै आफन्तले जानकारी गराएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले आव्हान गरेपछि बेपत्ता भएका ९ जनाका आफन्तले जानकारी गराएको सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीले बताए ।
जिल्ला प्रशासन कार्यालयमा बिर्तामोड १० का राजेश आचार्य , बिर्तामोड २ का बुद्धिसागर न्यौपाने र खिनमाया न्यौपाने , कन्काई ३ का घनश्याम भट्टराई , मेचीनगर ६ काँकडभिट्टाका दिपक खरेल , बुद्धशान्ति २ का राजकुमार दियाली , उनकी श्रीमती सृष्टि दियाली र ३ वर्षका छोरा राजन दियाली , मेचीनगर १० का विधान लुईटेल र उनका साथी निश्चल पाण्डे हराएको भनेर जानकारी गराइएको रायमाझीले जानकारी दिए ।
झापाबाट रसुवामा काम गर्न जाने, गोसाइकुण्ड घुम्न जाने , व्यवसायका लागि पुग्नेहरु बाढीमा परेका हुन् । जनैपूर्णिमाको अवसरमा गोसाईंकुण्ड दर्शनका लागि काठमाडौँबाट रिजर्भमा गएका बसहरू ठुलो संख्यामा सम्पर्कविहीन भएका छन्।
रसुवाको बाढीपछि बुद्धशान्तिका दियाली परिवारका तीन जना सम्पर्कविहीन भएका हुन् । दियाली परिवारले रसुवामा सुनचाँदी पसल संचालन गर्दै आएका थिए । त्यस्तै भोटकोशीको भीषण बाढीपछि बेपत्ता भएका मेचीनगर–६ का खरेल रसुवा अप्पर त्रिशूली तुसाम कोरियन कम्पनी ९हाइड्रो प्रोजेक्ट० मा कार्यरत थिए ।
त्यस्तै गौरीगञ्ज निवासी २८ वर्षीय केवलनाथ आचार्य बाढी प्रभावित क्षेत्रबाट बुधबार बिहानदेखि परिवार तथा आफन्तको सम्पर्कमा आएका छैनन् । उनी करिब ६ महिनादेखि अपर त्रिशूली जलविद्युत् आयोजनामा सेफ्टी इन्जिनियरका रूपमा कार्यरत रहेको परिवारले जनाएको छ। परिवारका अनुसार आचार्य आइतबार मात्र काममा फर्किएका थिए।
त्यस्तै एन्ड्रिज हाइड्रो प्रोजेक्ट अपर त्रिशूलीमा कार्यरत गौरीगञ्ज ३ का चुड्का टुडु हिजोदेखि आफ्नो परिवारको सम्पर्कमा नरहेको जनाइएको छ ।
यसैबीच रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा रहेका गौरीगञ्ज गाउँपालिका–३ का वडाध्यक्ष श्रवण गिरीसहित सात जना सकुशल रहेको खबर प्राप्त भएको छ। गिरीकी श्रीमतीसहित सातै जना तीर्थयात्री सुरक्षित रहेको गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष पूजन न्यौपाने कुँवरले जानकारी दिएकी छन्।
यसैबीच जिल्ला प्रहरी कार्यालय झापाले झापा जिल्लाबाट रसुवा लगायतका बाढी प्रभावित जिल्लाका विभिन्न क्षेत्रहरुमा रोजगारी, व्यापार तथा अन्य कामको सिलसिलामा गएका व्यक्तिहरु आफ्ना आफन्तहरुसँग सम्पर्कमा आएको नआएको एकिन गर्न तथा जोखिमपूर्ण अवस्थामा भएको पाइएमा खोज तथा उद्दारको लागि नजिकको प्रहरी कार्यालय, स्थानीय तह तथा जिल्ला प्रशासन कार्यालय, झापामा जानकारी गराउन अनुरोध गरेको छ ।






