काठमाडौं, ११ भदौ २०८३ । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले सिर्जित राष्ट्रिय संकट, राहत तथा उद्धारका विषयमा नेपाल सरकारका मुख्यसचिवसहित विषयगत मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल गरेका छन् ।
बाढीबाट प्रभावित नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षण गरी फर्किएलगत्तै प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय बैठक बोलाएका हुन् ।
बैठकमा विपद् व्यवस्थापन, राहत र उद्धारसँग प्रत्यक्ष जोडिएका रक्षा, गृह, अर्थ, परराष्ट्र, ऊर्जा, स्वास्थ्य तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरूको सहभागिता रहेको छ ।
प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई दु्रत बनाउन, घाइतेहरूको निस्शुल्क एवं प्रभावकारी उपचारको व्यवस्था मिलाउन र विस्थापित परिवारलाई तत्काल राहत सामग्री पुर्याउन कडा निर्देशन पनि दिएका छन् ।
विशेषगरी विस्थापितहरूका लागि निर्माण गरिएका राहत क्याम्पहरू पूर्ण रूपमा व्यवस्थित, सफा हुनुपर्नेमा प्रधानमन्त्रीको जोड छ ।
उनले क्याम्पहरूमा व्यक्तिगत गोपनीयता (प्राइभेसी) को पालना सुनिश्चित गर्न, तथा महिला, बालबालिका र वृद्धवृद्धाहरूलाई उचित सम्मान, सुरक्षा र विशेष प्राथमिकताका साथ राख्न निर्देशन दिएका छन् ।
साथै, बाढीका कारण क्षतिग्रस्त बनेका सडक, विद्युत् तथा सञ्चार संरचनाहरू यथाशीघ्र सुचारु गर्न सम्बन्धित मन्त्रालयहरूलाई एकीकृत कार्ययोजनासहित लाग्न निर्देशन दिइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।






