झापा, ९ भदौ २०८३ । झापाको बिर्तामोड नगरपालिका–९ मा न्वारानको भोज खाएर धेरैजना बिरामी परेका छन्। बिर्तामोड-९ का ५३ वर्षीय रामकुमार श्रेष्ठको घरमा आइतवार उनको नातिनीको न्वारान रहेको थियो । न्वारानमा करिव ५० जनाले भोज खाएका थिए । ती अधिकांशलाई स्वास्थ्य समस्या देखिएको हो । त्यसमध्ये १२ जना आज अस्पताल भर्ना भएका छन् । बिर्तामोड नगर अस्पतालमा ८ जना र प्रादेशिक अस्पताल भद्रपुरमा ४ जना भर्ना भएका हुन् ।
बिर्तामोड नगर अस्पतालमा घरधनी रामकुमार श्रेष्ठ , उनकी श्रीमती ४९ वर्षीया तारा श्रेष्ठ , सोही ठाउँ बस्ने वर्ष १५ की रुपा श्रेष्ठ , वर्ष ४८ की यमकुमारी प्रधान , वर्ष २० का रोमन श्रेष्ठ , इश्वरकुमार श्रेष्ठ , वर्ष ५० की फूलमाया श्रेष्ठ , वर्ष ६३ का हर्कप्रसाद श्रेष्ठ र वर्ष ३२ की बुनु श्रेष्ठ भर्ना भएका थिए । त्यसमध्ये केही डिस्चार्ज भएका छन् । प्रादेशिक अस्पतालमा भर्ना भएकाहरु पनि डिस्चार्ज भएका छन् । अन्यहरुले फार्मेसीबाट औषधी लगेर खाएको तर निको नभएपछि अस्पताल नै जानुपर्ने अबस्था रहेको घरमुली श्रेष्ठले बताए ।
स्थानीयका अनुसार भोजका लागि बिर्ताबजारस्थित गणेश फ्रेस हाउसबाट खरिद गरिएको कुखुराको मासु खाएका थिए । यद्यपि, त्यहीको कुखुराकै मासु खाएर बिरामी परेको पुष्टि भएको छैन । विरामी पर्नुको वास्तविक कारण प्रयोगशाला परीक्षणपछि मात्रै पुष्टि हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जनाएको छ।
घटना सार्वजनिक भएपछि बिर्तामोड नगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय झापाको संयुक्त टोलीले गणेश फ्रेस हाउसको अनुगमन गरेको छ। अनुगमनका क्रममा पसलमा सरसफाइमा लापरवाही भएको पाइएको भन्दै सञ्चालक गणेश श्रेष्ठलाई तीन दिनभित्र सरसफाइ गर्न अल्टिमेटम दिइएको नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बताए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका सुभाषचन्द्र वस्तीका अनुसार बिरामी हुनुको कारण पत्ता लगाउन कुखुराको मासुसहित विभिन्न खाद्य सामग्रीको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गरिनेछ। भोजमा प्रयोग गरिएको तेलको नमुना हल्दीबारीस्थित किराना पसलबाट समेत संकलन गरिएको छ।






