काठमाडौं, ९ भदौ २०८३ । अमेरिकी सरकारले दुई लाखसम्म विदेशी नागरिकको व्यापारिक (बी१) र पर्यटक (बी२) भिसा रद्द गर्ने तयारी गरेको छ । यो कार्य कार्यान्वयन भएमा एकैपटक यति ठूलो संख्यामा भिसा रद्दको पहिलो घटना हुनेछ ।
अमेरिकी विदेश मन्त्रालयले आउँदा दिनमा सन् २०१६ देखि २०२६ बीच जारी गरिएका केही बी१ र बी२ भिसा रद्द गर्ने घोषणा गर्न सक्ने जनाइएको छ । प्रस्तावित कारबाही विशेष गरी अमेरिका पुगेपछि शरणका निम्ति आवेदन दिएका वा दिने तयारीमा रहेका व्यक्तिहरूलक्षित हुनेछ ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टोमी पिगोटले केही व्यक्तिले छोटो अवधिको भ्रमण वा व्यापारिक प्रयोजनका निम्ति अमेरिका प्रवेश गरेपछि स्थायी रूपमा बस्ने उद्देश्यले शरणका लागि आवेदन दिने गरेका पाइएको बताए ।
विदेश मन्त्रालयले भिसा रद्द गरिने व्यक्तिको अन्तिम संख्या भने सार्वजनिक गरेको छैन । यो प्रक्रिया चरणबद्ध रूपमा अघि बढाइने भएकाले प्रभावित व्यक्तिको संख्या परिवर्तन हुन सक्ने अधिकारीहरूले बताएका छन् ।
भिसा रद्द हुँदैमा सम्बन्धित व्यक्तिलाई तत्काल अमेरिकाबाट निष्कासन गरिने छैन । तर, शरणका निम्ति आवेदन प्रक्रियामा रहेका व्यक्तिको कानुनी अवस्थामाथि यसको प्रभाव पर्न सक्नेछ ।
अमेरिकी उपविदेशमन्त्री क्रिस्टोफर ल्यान्डोले पर्यटक वा व्यापारिक भिसामा अमेरिका प्रवेश गरेपछि त्यही माध्यमलाई देशमा बसिरहने उपायका रूपमा प्रयोग गर्दै शरण प्रणालीको दुरुपयोग गर्न नपाइने बताएका छन् ।
सामान्यतया बी१ भिसा व्यापारिक भ्रमण र बी२ भिसा पर्यटन, पारिवारिक भेटघाट वा उपचारका निम्ति जारी गरिन्छ ।
अमेरिकी विदेश मन्त्रालयले पछिल्ला १८ महिनामा करिब एक लाख ७५ हजार भिसा रद्द गरिसकेको छ । त्यसमा आपराधिक अभियोग लागेका, दोषी ठहरिएका तथा अमेरिकी नीतिविरुद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिएका व्यक्तिहरू समेत परेका थिए ।






