काठमाडौं, ९ भदौ २०८३ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इस्रो) ले सन् २०३५ सम्ममा भारतको आफ्नै अन्तरिक्ष स्टेसन ‘भारतीय अन्तरिक्ष स्टेसन’स्थापना गर्ने लक्ष्य राखेको छ ।
अहमदाबादमा आयोजित तेस्रो राष्ट्रिय अन्तरिक्ष दिवस समारोहलाई सम्बोधन गर्दै इस्रोका अध्यक्ष डा। वी। नारायणनले अन्तरिक्ष स्टेसनको पहिलो मोड्युल निर्माणका लागि औपचारिक स्वीकृति प्राप्त भइसकेको जानकारी दिए ।
उनले भारतको पहिलो मानव अन्तरिक्ष मिसन ‘गगनयान’ र आफ्नै अन्तरिक्ष स्टेसन स्थापना गर्ने परियोजनामा एकसाथ तीव्र गतिमा काम भइरहेको बताए ।
अध्यक्ष नारायणनले ६४ वर्षअघि सुरु भएको भारतको अन्तरिक्ष यात्राले देशलाई अहिले विश्वव्यापी अन्तरिक्ष क्षेत्रमा महत्वपूर्ण स्थानमा पुर्याएको बताए ।
भारतले हाल भू–अवलोकन, रिमोट सेन्सिङ, दूरसञ्चार, टेलिभिजन प्रसारण, दूरशिक्षा, विपद् पूर्वसूचना तथा व्यवस्थापन, नेभिगेसन र वास्तविक–समय अनुगमनलगायत ५० भन्दा बढी क्षेत्रमा सर्वसाधारणको सेवाका लागि अन्तरिक्ष प्रविधिको प्रयोग गरिरहेको छ ।
भारतले अन्तरिक्ष क्षेत्रमा नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिँदै अघि बढिरहेको पनि नारायणनले बताए । द प्रिन्ट






