विराटनगर, ८ भदौ २०८३ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । आज प्रदेशसभामा भएको मतदानमा कार्कीको पक्षमा ५७ मत परेको हो ।
यो मत विश्वासको मतका लागि आवश्यक बहुमतभन्दा बढी हो । विपक्षमा २२ मत परेको छ भने ४ जना प्रदेशसभा सदस्य मतदानमा अनुपस्थित वा तटस्थ रहेका छन् ।
विश्वासको मतको पक्षमा सत्तारूढ नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रदेशसभा सदस्यले मतदान गरेका हुन् । कोशी प्रदेशसभामा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ सदस्य छन् ।
मुख्यमन्त्री कार्कीको विपक्षमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्यले मतदान गरेका छन् । कांग्रेसका २९ सांसदमध्ये २२ जनाले विपक्षमा मतदान गरेका हुन् ।
राप्रपाका प्रदेशसभामा सभामुखसहित ५ सदस्य छन् । उनीहरूले मतदानमा भाग लिएनन् । तटस्थ बसे । जनता समाजवादी पार्टीकी एक मात्र प्रदेशसभा सदस्य निर्मला लिम्बू पनि बैठकमा उपस्थित भइनन् ।
कोशी प्रदेशसभामा कुल ९३ सदस्य रहेकामा एक जनाले राजीनामा दिएपछि हाल ९२ सदस्य छन् । आजको बैठकमा ८३ जना प्रदेशसभा सदस्य उपस्थित थिए ।






