काठमाडौं, ७ भदौ २०८३ । सरकारले शैक्षिक परामर्श सेवामा भाषा शिक्षणसम्बन्धी योग्यता तोकेको छ । शिक्षा मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका २०७३ स्वीकृत गरी योग्यता तोकेको हो ।
निर्देशिकाले तोकेको योग्यताअनुसार अब आईएलटीएस, टोफल लगायतका तयारी गराउने प्रशिक्षकले स्नताक तह उत्तीर्ण गरी कम्तीमा ७५ प्रतिशत अंक ल्याउनुपर्ने छ ।
जीम्याटका प्रशिक्षकले स्नातकोत्तरसँगै ७५ प्रतिशत अंक प्राप्त गर्नुपर्ने छ । निर्देशिकाअनुसार अब शैक्षिक परामर्श, भाषा शिक्षण तथा पूर्वतयारी कक्षा सञ्चालन गर्न मन्त्रालय वा तोकिएको निकायबाट अनिवार्य रूपमा स्वीकृति लिनुपर्नेछ । स्वीकृतिको अवधि एक वर्षको हुनेछ भने अवधि समाप्त हुनुभन्दा कम्तीमा १५ दिनअघि नवीकरणका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ ।
परामर्शदाता संस्थाले विद्यार्थी वा अभिभावकसँग लिखित सम्झौता गर्दा अध्ययन गर्ने कलेज, विषय, तह, अनुमानित वार्षिक खर्च तथा शुल्क र परामर्श सेवाबापत लिइने सेवा शुल्क स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ । विद्यार्थीलाई भ्रममा पार्ने, अपुष्ट वा आधारहीन सूचना तथा विज्ञापन गर्नसमेत रोक लगाइएको छ ।
निर्देशिकाले शैक्षिक परामर्शदाताको योग्यता पनि निर्धारण गरेको छ । परामर्शदाता कम्तीमा स्नातक तह उत्तीर्ण भएको र मन्त्रालय वा मान्यता प्राप्त संस्थाबाट परामर्शसम्बन्धी तालिम लिएको हुनुपर्नेछ ।






