Online Bichar
मंगलबार, साउन १९, २०८३ | Tuesday, August 4, 2026

काठमाडौं, १७ साउन २०८३ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायको ‘मास्टर अफ बिजनेस स्टडिज’ (एमबीएस) को प्रथम सत्रको प्रश्नपत्र लिक गर्नेहरुमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रश्नपत्र लिक गर्नेहरुमध्येका हालसम्म तीन जनालाई पक्राउ गरिसकेको छ ।

सीआईबीले कैलालीका सन्दीप सिंह ठकुरी, रौतहट राजदेवी नगरपालिका–४ का २५ वर्षीय अतुलकुमार मिश्र र बाराको लिपनीमाल घर भइ हाल वीरगन्ज महानगरपालिका–२१ बस्ने ३१ वर्षीय अब्दुल सानि हाकिममाथि अनुसन्धान जारी राखेको छ ।

सिंह काठमाडौंको एक निजी कलेजमा कार्यरत शिक्षकसमेत हुन् । प्रहरीको अनुुुसन्धानका क्रममा साउन ८ गते सञ्चालन भएको ‘मास्टर अफ बिजनेस स्टडिज’ (एमबीएस) को प्रथम सत्रका परीक्षा सञ्चालनको केही समयमै प्रश्नपत्र सामाजिक सञ्जाल तथा ह्वाट्सएप ग्रुपमार्फत सार्वजनिक भएको थियो ।

‘एमबीएस फस्र्ट सेम सेक्सन सी’ नामक ह्वाट्सएप ग्रुपमा परीक्षा सुरु भएको पाँच मिनेटमै प्रश्नपत्र पठाइएको खुलेको हो ।

सोही कार्यमा संलग्न गरेको आरोपमा सीआईबीले सिंहलाई साउन १० गते नै पक्राउ गरेको थियो ।

सिंह पक्राउपछि अनुसन्धानका क्रममा मिश्र र अब्दुल पनि पक्राउ परेका हुन् । उनीहरु भने साउन १२ गते पक्राउ परेका हुन् । सीआईबीले उनीहरुमाथि अनुसन्धान अझै जारी राखेको छ । सीआईबीको हालसम्मको अनुसन्धानले प्रश्नपत्र ‘लिक’ गर्ने घटनामा त्रिविका कर्मचारीको संलग्नताबारे अनुसन्धान जारी राखेको जनाएको छ । यद्यपि अहिलेसम्म कुनै ठोस प्रमाण फेला नपारेको प्रहरी स्रोत बताउँछ ।

‘‘हालसम्म कोही कर्मचारीको संलग्नता छ कि छैन भन्नेमा हामी अनुसन्धानकै चरणमा छौँ,’’अनुसन्धानमा संलग्न ती अधिकारीले भने,‘‘पक्राउ परेकामध्ये अब्दुल सानि हाकिमको भूमिका सबैभन्दा शंकास्पद छ । उनीमार्फत नै प्रश्नपत्र लिक भएको देखिन्छ ।’’

प्रहरीको अनुसन्धानका क्रममा एक निजी बैंकका कर्मचारी समेत रहेका अब्दुल सानि हाकिम पनि ‘मास्टर अफ बिजनेस स्टडिज’ (एमबीएस) को प्रथम सत्रको परीक्षा दिने विद्यार्थी समेत हुन् ।

उनले प्रश्नपत्रको फोटो खिचेर अर्को छुट्टै ग्रुपमा पठाएको पाइएको हो । अब्दुल सानि हाकिमले प्रश्नपत्र पठाएपछि भने एक निजी कलेजका शिक्षकसमेत रहेका सिंहले अन्य ग्रुपमा समेत सेयर गराएका थिए ।

यसरी नै पक्राउ परेका अर्का आरोपी अतुलकुमार मिश्रले उक्त प्रश्नको केही उत्तरसमेत भरेर पुनः ह्वाट्सएप ग्रुपमै पठाएको देखिएको छ ।

सीआईबी स्रोतले भन्यो,‘‘यो पूरा योजनाबद्ध तरिकाले लिक भएकोजस्तो हाम्रो प्रारम्भीक अनुसन्धानले देखाउँदैन । अब्दुल सानि हाकिम परीक्षा हलभित्र प्रवेश गरेको पाँच मिनेटमा आफ्नै मोबाइलले फोटो खिचेको देखिन्छ । अनि उनले नै ह्वाट्सएप ग्रुपमार्फत सार्वजनिक गरेकोसम्म खुलेको छ । थप अनुसन्धान त जारी नै छ ।’’

मुलुककै अग्रणी विश्वविद्यालय त्रिविको परीक्षा चलेकै बेला पटक–पटक प्रश्नपत्र लिक भएपछि भने चासो बढेको छ ।

२०७५ भदौमा एमएड प्रथम सेमेस्टर साइकोलोजीको प्रश्नपत्र पनि यसैगरी बाहिरिएको थियो । प्रहरीको अनुुन्धानले भने परीक्षा हल प्रवेश गर्दा मोबाइल समेत जाँच गरेर बाहिर राख्नुपर्नेमा विद्यार्थीलाई नै दिँदा परीक्षाको संवेदनशिलतामा प्रश्न उठेको दाबी गरेको छ ।

सीआईबीले पक्राउ गरेका हाल तीनजनाविरुद्ध शिक्षा ऐन २०२८ अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाएको छ ।बाह्रखरीबाट

तपाईको प्रतिक्रिया