काठमाडौं, १५ साउन २०८३ । विशेष अदालतले गैरकानुनी लाभ लिएको अभियोगमा मुद्दा चलाइएका राहदानी छपाइ प्रकरणका ठेकेदार सिद्धार्थ थापालाई साधारण तारिखमा राख्न आदेश दिएको छ ।
थापा कांग्रेस नेता एवम् राष्ट्रियसभा सदस्य सुनीलबहादुर थापाका छोरा हुन् । उनीसहित राहदानी विभागका नौजना कर्मचारीविरुद्ध १० अर्ब १३ करोड चार लाख ६१ हजार रुपैयाँ भ्रष्टाचारको बिगो दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको थियो ।
अध्यक्ष बासुदेव आचार्य र सदस्य न्यायाधीश हेमन्त रावलको इजलासले साधारण तारेखमा राख्न आदेश दिएको हो । थापा शुक्रबार विशेष अदालतमा उपस्थित भएका थिए । बयान र थुनछेक आदेश सकिएपछि साधारण तारिखमा राख्न आदेश भएको हो ।
यस्तै, पोखरा विमानास्थल भ्रष्टाचार प्रकरणमा मुछिएका नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीलाई अदालतबाट पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको छ । यद्यपि, उनी अर्को भ्रष्टाचार मुद्दामा थुनामै रहेका थिए ।






