Online Bichar
शनिबार, साउन १६, २०८३ | Saturday, August 1, 2026

विराटनगर, १५ साउन २०८३ । मंगोलियामा हुने ११ औँ एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व हुने भएको छ। प्रतियोगितामा सहभागी हुन नेपालबाट तीन सदस्यीय टोली आइतबार त्यसतर्फ प्रस्थान गर्नेछ।

साउन १८ देखि २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालले खेल तथा प्राविधिक दुवै पक्षमा सहभागिता जनाउने भएको हो। प्रतियोगितामा सहभागी हुने टोलीलाई विराटनगरमा आयोजित कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव विप्लव घोषले बिदाइ गर्दै सफलताको शुभकामना दिएका छन्। उनले उत्कृष्ट प्रदर्शन गर्दै पदकसहित नेपाली टोली स्वदेश फर्किने विश्वास व्यक्त गरे। यस्तो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिताले प्रदेश र देशकै खेलकुद क्षेत्रलाई थप ऊर्जा मिल्ने घोषको भनाइ थियो।

नेपाली टोलीमा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्की, महासचिव घमबहादुर थापा मगर तथा खेलाडी शेखर थापा सहभागी छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले औपचारिक बिदाइ गरेपछि टोली साउन १७ गते मंगोलियातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

महासंघका अध्यक्ष कार्कीका अनुसार प्रतियोगिता खेल प्रदर्शनमा मात्र सीमित रहने छैन। उद्घाटनकै दिन अम्पायरहरूका लागि सेमिनार कोर्स सञ्चालन हुने तथा सोही साँझ एसियन आईटीएफ तेक्वान्दो फेडेरेसनको कंग्रेस अधिवेशन आयोजना हुने उनले बताए। उक्त अधिवेशनमा नेपालले पनि सक्रिय रूपमा आफ्नो सहभागिता जनाउने जानकारी कार्कीले दिए।

अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने र नेपालको प्रतिष्ठा उँचो बनाउने लक्ष्यसहित टोलीले आवश्यक तयारी पूरा गरेको अध्यक्ष कार्कीले बताए। नेपालको प्रतिनिधित्व गर्ने टोलीले खेलसँगै प्राविधिक र संस्थागत गतिविधिमा समेत सक्रिय भूमिका निर्वाह गर्ने उनको भनाइ छ।

 

तपाईको प्रतिक्रिया