भैरहवा, १५ साउन २०८३ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया बसपार्क क्षेत्रबाट भीओआईपी कल बाइपासको उपकरणसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा चुमनुव्री गाउँपालिका–४ का ६२ वर्षीय छिरिङ गुरुङ रहेको प्रहरीले जनाएको छ ।
लामो समयको निगरानी पश्चात पक्राउ परेका गुरुङले बेलहियास्थित न्यु मुक्ति होटल एण्ड रेष्टुरेण्टमा भाडामा लिएर बसेको कोठाको खानतलासी गर्दा कल बाइपास गर्न प्रयोग गरिएका विभिन्न उपकरणसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्णकुमार चन्दले बताए ।
उनका अनुसार, पक्राउ परेका आरोपीको साथबाट सिमकार्ड जडान भएको डिभाइस २ थान, राउटर २ थान, भारतीय सिम कार्ड ५६ थान, एनसेल सिमकार्डको खोल ३८ थान, नेपाल टेलिकमको सिमकार्ड एक थान, स्कुटर, नेपाली र भारतीय नगद रुपैयाँ लगायत विभिन्न सामग्री बरामद भएको छ ।
आरोपीविरुद्ध जिल्ला अदालत रुपन्देहीबाट दूरसञ्चार ऐन २०५३ को भीओइपी कल बाइपाससम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरेर घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






