Online Bichar
बिहिबार, साउन १४, २०८३ | Thursday, July 30, 2026

काठमाडौँ, १३ साउन २०८३ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मा कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी कर्मचारीहरूले आफ्ना विभिन्न ९ सूत्रीय मागहरू अघि सार्दै आन्दोलनको घोषणा गरेका छन् ।

‘करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिक केन्द्रीय संघर्ष समिति’ ले सीटीईभीटीका सदस्य–सचिव अनोज भट्टराईसमक्ष बुधबार मागपत्र पेस गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा कोष, महँगी भत्ता र उमेर हद नलाग्ने गरी विशेष प्रक्रियामार्फत स्थायी गरिनुपर्ने लगायतका मागहरू राखेपनि सम्बोधन नभएको भन्दै आन्दोलनको घोषणा गरेका हुन्।

निरन्तर रोजगारीको सुनिश्चितता, ‘समान कामका लागि समान ज्याला’ को संवैधानिक सिद्धान्त अनुसार सेवा–सुविधा लगायतका मागहरू राखेका छन्। प्रशासनिक पक्षले माग सम्बोधनमा बेवास्ता र उदासीनता देखाएको भन्दै सङ्घर्ष समितिले चरणबद्ध आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ।

घोषित कार्यक्रम अनुसार साउन १४ गते दिउँसो ११ देखि ३ बजेसम्म ‘पेन डाउन’ गर्ने उल्लेख छ। मागहरू पूरा नभए साउन १५ गतेदेखि प्रशासनिक तथा आर्थिक शाखाहरू ठप्प पारी धर्ना बस्ने, साउन २२ गतेदेखि सम्पूर्ण शैक्षिक गतिविधि तथा परीक्षासम्बन्धी कामहरू ठप्प पार्ने र साउन २५ गतेदेखि सीटीईभीटीको केन्द्रीय कार्यालय घेराउ गर्ने जस्ता अनिश्चितकालीन विरोधका कार्यक्रमहरू तय गरिएको संघर्ष समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया