Online Bichar
शनिबार, साउन ०२, २०८३ | Saturday, July 18, 2026

काठमाडौं, १ साउन २०८३ । नेपाल शिक्षक महासंघले ‘मास्टर्नी’ चलचित्रको प्रवर्द्धनात्मक गीत बन्द गर्न माग गरेको छ । महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै गीतप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । उक्त गीतले शिक्षक र शिक्षण पेसाको गरिमामा प्रहार गरेको महासंघको भनाइ छ । ‘महिला शिक्षकप्रति लक्षित अमर्यादित शब्द र भाव संयोजन गरिएको त्यो गीतले शिक्षक र शिक्षण पेसाको गरिमा माथि गम्भीर प्रहार गरेको छ । उक्त गीतलाई तुरुन्तै बन्द गर्न तथा चलचित्रमा प्रयोग नगर्न हामी सम्बन्धित पक्षसँग आग्रह गर्छौँ,’ महासंघले विज्ञप्तिमा भनेको छ ।

उक्त गीत बन्द नभए त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी चलचित्र निर्माता र कालकार हुने चेतावनी महासंघले दिएको छ । दुर्गेश थापाको शब्द, संगीत तथा स्वर रहेको उक्त गीतमा प्रियंका कार्की, दुर्गेश, आयुष्मान देशराज जोशी र आर्यन सिग्देलको अभिनय छ ।

भदौ ५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र मास्टर्नीको निर्माता प्रियंका स्वयंम हुन् । सिनेमाको कथा पनि प्रियंकाकै हो । चलचित्रलाई बंगाली निर्देशक सुभेन्दु घोषले निर्देशन गरेका छन् । सिनेमाको मुख्य भूमिकामा प्रियंका आफैँ छिन् ।

तपाईको प्रतिक्रिया