काठमाडौं, २८ असार २०८३ । ४८ टोलीबाट सुरु भएको फिफा विश्वकप २०२६ अब अन्तिम चार टोलीमा आइपुगेको छ । एक महिनाभन्दा लामो प्रतिस्पर्धा, दर्जनौं रोमाञ्चक खेल र थुप्रै अप्रत्याशित नतिजापछि फ्रान्स, स्पेन, इंग्ल्यान्ड र साविक विजेता अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाएका छन् ।
क्वाटरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदा स्पेनले बेल्जियममाथि २–१ को कठिन जित निकाल्यो । इंग्ल्यान्डले अतिरिक्त समयमा नर्वेलाई २–१ ले पन्छायो भने अर्जेन्टिनाले पनि अतिरिक्त समयसम्म पुगेको खेलमा स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्यो ।
अब पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन तथा दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र अर्जेन्टिना भिड्नेछन् । संयोग यस्तो छ कि अन्तिम चारमा पुगेका सबै टोली विश्व फुटबलका स्थापित शक्ति हुन् ।
चारै टोलीले यसअघि विश्वकप जितिसकेका छन् । फ्रान्स तेस्रो, स्पेन र इंग्ल्यान्ड दोस्रो तथा अर्जेन्टिना चौथो उपाधिको खोजीमा छन् ।
पछिल्लो एक दशकमा विश्व फुटबलको सबैभन्दा स्थिर टोलीमध्ये एक बनेको फ्रान्स फेरि विश्वकपको उपाधिनजिक पुगेको छ । सन् २०१८ को विजेता र २०२२ को उपविजेता फ्रान्सले २०२६ मा पनि आफ्नो शक्ति देखाउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।
फ्रान्सले समूह चरणमा सेनेगललाई ३–१, इराकलाई ३–० र नर्वेलाई ४–१ ले हराउँदै समूह विजेताका रूपमा नकआउट चरणमा स्थान बनाएको थियो । अन्तिम ३२ मा स्वीडेनमाथि ३–० को जित निकालेको फ्रान्सले अन्तिम १६ मा पाराग्वेलाई १–० ले पन्छायो ।
क्वाटरफाइनलमा मोरक्कोलाई २–० ले हराउँदै फ्रान्स लगातार तेस्रोपटक विश्वकपको सेमिफाइनलमा पुगेको हो ।
फ्रान्सको सबैभन्दा ठूलो शक्ति कप्तान किलियन एमबाप्पे हुन् । उनले प्रतियोगितामा आठ गोल गरिसकेका छन् र गोल्डेन बुटको दौडमा लियोनल मेसीसँगै संयुक्त रूपमा शीर्ष स्थानमा छन् । एमबाप्पेले गोल मात्र होइन, तीन गोलका लागि अवसरसमेत सिर्जना गरेका छन् । ओस्मान डेम्बेलेले पनि पाँच गोल गर्दै फ्रान्सको आक्रमणलाई थप खतरनाक बनाएका छन् ।
फ्रान्स यसअघि सातपटक विश्वकपको सेमिफाइनल खेलिसकेको थियो । २०२६ मा आठौं सेमिफाइनल खेल्न लागेको फ्रान्सले सन् १९९८/२०१८ मा उपाधि जितेको छ । २००६/२०२२ मा फाइनल पुगेपनि उपाधि जित्न सकेन ।
डिडियर डेसच्याम्पको टोलीका लागि अब स्पेनको चुनौती पार गर्दै लगातार दोस्रो विश्वकप फाइनल पुग्ने लक्ष्य हुनेछ ।
स्पेनको विश्वकप यात्रा सुरुमै अपेक्षाअनुसार थिएन । प्रतियोगिताको पहिलो खेलमा विश्वकपमा पहिलोपटक सहभागी केप भेर्डेसँग गोलरहित बराबरी खेलेपछि स्पेनमाथि प्रश्न उठेका थिए ।
तर त्यसपछि स्पेनले आफ्नो असली रूप देखायो । दोस्रो खेलमा साउदी अरेबियालाई ४–० ले हराएको स्पेनले समूहको अन्तिम खेलमा उरुग्वेलाई १–० ले पन्छाउँदै समूह विजेता बन्यो ।
अन्तिम ३२ मा अस्ट्रियामाथि ३–० को सहज जित निकालेको स्पेनले अन्तिम १६ मा छिमेकी पोर्चुगललाई १–० ले हरायो ।
क्वाटरफाइनलमा बेल्जियमविरुद्ध भने स्पेनले कठिन परीक्षा दिनुपर्यो । फाबियन रुइजको गोलबाट अग्रता बनाए पनि बेल्जियम खेलमा फर्किएको थियो । तर खेल सकिन दुई मिनेट बाँकी रहँदा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई २–१ को जितसहित सेमिफाइनल पुर्याए ।
स्पेनका लागि मिकेल ओयारजाबालले चार गोल गरेका छन् । युवा स्टार लामिन यामाल, रोड्री, फाबियन रुइज र मेरिनो टोलीका महत्वपूर्ण हतियार बनेका छन् । बल नियन्त्रणमा राख्ने परम्परागत शैलीसँगै लुइस डे ला फुएन्टेको टोलीले यसपटक आवश्यक समयमा सीधा र तीव्र आक्रमण गर्न सक्ने क्षमता पनि देखाएको छ ।
स्पेनले विश्वकप इतिहासमा सन् २०१० मा पहिलो र एकमात्र उपाधि जितेको थियो । त्यही प्रतियोगितामा स्पेन पहिलोपटक सेमिफाइनल पुगेको थियो । १६ वर्षपछि स्पेन फेरि अन्तिम चारमा फर्किएको छ । अब उसका अगाडि दुईपटकको विजेता फ्रान्स छ । सन् १९६६ पछि विश्वकप जित्न नसकेको इंग्ल्यान्ड फेरि उपाधिबाट दुई जित टाढा छ ।
इंग्ल्यान्डले समूह चरणको पहिलो खेलमा क्रोएसियालाई ४–२ ले हराउँदै सानदार सुरुवात गरेको थियो । दोस्रो खेलमा घानासँग गोलरहित बराबरीमा रोकिए पनि अन्तिम खेलमा पानामाथि २–० को जित निकाल्दै समूह विजेता बन्यो ।
नकआउट चरणमा भने इंग्ल्यान्डका हरेक खेल कठिन बनेका छन् । अन्तिम ३२ मा कंगोलाई २–१ ले हराएको इंग्ल्यान्डले अन्तिम १६ मा घरेलु टोली मेक्सिकोमाथि ३–२ को रोमाञ्चक जित निकाल्यो ।
क्वाटरफाइनलमा नर्वेविरुद्ध पनि इंग्ल्यान्ड पछि परेको थियो । तर जुड बेलिङ्घमले टोलीलाई खेलमा फर्काए । निर्धारित समय बराबरीमा सकिएपछि अतिरिक्त समयमा बेलिङ्घमले नै अर्को गोल गर्दै इंग्ल्यान्डलाई २–१ को जित दिलाए । नर्वेका सात गोल गरिसकेका एर्लिङ हालान्डलाई रोक्नु पनि इंग्ल्यान्डको जितको महत्वपूर्ण पक्ष बन्यो ।
कप्तान ह्यारी केनले प्रतियोगितामा छ गोल गरेका छन् । तर बेलिङ्घम पनि ६ गोलसहित निर्णायक खेलाडीका रूपमा उदाएका छन् । मेक्सिको र नर्वेविरुद्ध दबाबका बीच निकालिएका जितले थोमस टुखेलको टोलीको मानसिक शक्ति देखाएको छ ।
इंग्ल्यान्डले सन् १९६६ मा आफ्नो एकमात्र विश्वकप उपाधि जितेको थियो । त्यसपछि १९९०/२०१८ मा सेमिफाइनल पुगे पनि फाइनल पुग्न सकेन । २०२६ सहित इंग्ल्यान्ड चौथोपटक विश्वकपको अन्तिम चारमा पुगेको छ ।
तर अब उसका अगाडि साविक विजेता अर्जेन्टिना र लियोनल मेसी छन् । विश्वकप इतिहासमै गहिरो कथा बोकेको इंग्ल्यान्ड–अर्जेन्टिना प्रतिस्पर्धामा यसपटक दाउ फाइनलको टिकट हुनेछ ।
साविक विजेता अर्जेन्टिना फेरि विश्वकपको सेमिफाइनलमा छ । र, फेरि टोलीको केन्द्रमा छन्– लियोनल मेसी ।
अर्जेन्टिनाले समूह चरणमा अल्जेरियालाई ३–०, अस्ट्रियालाई २–० र जोर्डनलाई ३–१ ले हराउँदै शतप्रतिशत जितका साथ समूह विजेता बनेको थियो ।
तर नकआउट चरणमा अर्जेन्टिनाको यात्रा सहज रहेन । अन्तिम ३२ मा केप भेर्डेलाई अतिरिक्त समयमा ३–२ ले हराएको अर्जेन्टिना अन्तिम १६ मा इजिप्टविरुद्ध २–० ले पछि परेको थियो । त्यही अवस्थाबाट तीन गोल फर्काउँदै ३–२ को अविश्वसनीय जित निकाल्यो ।
क्वाटरफाइनलमा स्विट्जरल्यान्डले पनि अर्जेन्टिनालाई अतिरिक्त समयसम्म रोकेको थियो । एलेक्सिस म्याक एलिस्टरको सुरुवाती गोलपछि स्विट्जरल्यान्ड डान एन्डोएको गोलमार्फत खेलमा फर्कियो । तर अतिरिक्त समयमा जुलियन अल्भारेज र लाउतारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई ३–१ को जित दिलाए ।
मेसीले यस विश्वकपमा आठ गोल गरेका छन् । ३९ वर्षको उमेरमा पनि उनी अर्जेन्टिनाको खेलका मुख्य सूत्रधार हुन् । गोल, पास र निर्णायक क्षणमा खेल परिवर्तन गर्ने उनको क्षमता अझै उस्तै देखिएको छ । जुलियन अल्भारेज, लाउतारो मार्टिनेज, एन्जो फर्नान्डेज र म्याक एलिस्टरले मेसी वरिपरि बलियो टोली निर्माण गरेका छन् ।
अर्जेन्टिनाले सन् १९७८, १९८६ र २०२२ मा विश्वकप जितेको छ । यसअघि पाँचपटक सेमिफाइनल खेलेको अर्जेन्टिना २०२६ मा छैटौं पटक अन्तिम चारमा पुगेको हो । टोली अहिले लगातार दोस्रो विश्वकप जित्ने अभियानमा छ ।
यदि अर्जेन्टिनाले इंग्ल्यान्डलाई हरायो भने मेस्सीले आफ्नो अन्तिम हुन सक्ने विश्वकपमा लगातार दोस्रोपटक उपाधिका लागि खेल्नेछन् ।
चार विश्वविजेता, दुई खेल र एउटै सपना
फ्रान्स, स्पेन, इंग्ल्यान्ड र अर्जेन्टिना । चारै टोली विश्वविजेता हुन् । चारै टोलीसँग विश्व फुटबलका ठूला स्टार छन् । र, चारै टोली अब उपाधिबाट केवल दुई जित टाढा छन् ।
एकातिर आठ गोल गरेका एमबाप्पेको फ्रान्स र नयाँ पुस्ताको शक्तिशाली स्पेन भिड्दैछन् । अर्कोतिर ६० वर्षदेखि विश्वकप खोजिरहेको इंग्ल्यान्डका अगाडि मेसीको साविक विजेता अर्जेन्टिना उभिएको छ ।
४८ टोलीबाट सुरु भएको विश्वकपमा अब चार टोली बाँकी छन् ।
दुई सेमिफाइनलपछि दुई टोलीको सपना सकिनेछ । दुई टोली न्युयोर्क न्युजर्सीमा हुने फाइनलका लागि अघि बढ्नेछन् ।
र जुलाई १९ मा यी चार महारथीमध्ये एकले विश्व फुटबलको सबैभन्दा ठूलो उपाधि उचाल्नेछ ।






