अफ्रिका, २८ असार २०८३ । दक्षिण अफ्रिका तथा मामेलोडी सनडाउन्सका मिडफिल्डर जेडन एडम्स को २५ वर्षको उमेरमा निधन भएको छ । देशका लागि विश्वकप खेलेको केही सातामै उनको निधन भएको हो ।
दक्षिण अफ्रिकी प्रहरीले शनिबार बिहान केप टाउनको शटशेक्लुफ क्षेत्रमा रहेको एक घरमा उनको शव फेला परेको र घटनाबारे अनुसन्धान सुरु गरिएको जनाएको छ । जेडन एडम्सले विश्वकपमा दक्षिण अफ्रिकाका लागि समूह चरणका तीन वटै खेल खेलेका थिए । उनको टोली नकआउट चरणसम्म पुगेको थियो, तर राउन्ड अफ ३२ मा क्यानडासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।
दक्षिण अफ्रिकाका खेल, कला तथा संस्कृति मन्त्री गेटन म्याकेन्जी ले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘जेडन एडम्सको निधनको खबरले मलाई अत्यन्त स्तब्ध र दुःखी बनाएको छ ।’ उनले थपे, ‘दक्षिण अफ्रिकी फुटबलले आफ्ना सबैभन्दा प्रतिभाशाली युवा खेलाडीमध्ये एकलाई गुमाएको छ । यो दुःखको घडीमा पूरा राष्ट्र उनका परिवार, टोलीका सहकर्मी र लाखौं समर्थकसँगै छ ।’
म्याकेन्जीले जेडनको मृत्युको कारण अहिलेसम्म खुल्न नसकेको बताउँदै सञ्चारमाध्यम र सर्वसाधारणलाई कुनै पनि अनुमान वा अफवाह नफैलाउन आग्रह गरेका छन् । उनले यस कठिन समयमा जेडनको परिवार र मामेलोडी सनडाउन्स क्लबको गोपनीयताको सम्मान गर्न पनि अनुरोध गरेका छन् ।
दक्षिण अफ्रिकी फुटबल खेलाडी संघले पनि जेडन एडम्सको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
संघका अनुसार उनले सन् २०२२ मा दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीबाट पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका थिए । संघले विज्ञप्तिमा भनेको छ, ‘जेडनले हालै सम्पन्न २०२६ को विश्वकपमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरेका थिए । उनको निधनले उनका परिवार, टोलीका सहकर्मी, क्लब, सम्पूर्ण फुटबल समुदाय र देशलाई ठूलो क्षति पुगेको छ ।’






