जेबि खड्का
गौरादह, २४ असार २०८३ । गौरादहमा पहिलो पटक महिला फुटबल प्रतियोगिता हुने भएको छ। स्पर्श क्लब गौरादहले महिला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको हो । स्पर्श क्लबले एरोमा रेष्टुरेन्ट गौरादहमा पत्रकार सम्मेलन गरि भाद्र महिनाको १४ गते देखि २८ गतेसम्म महिला फुटबल आयोजना गर्ने जनाएको छ।
जनता मा.बि. गौरादहको खेल मैदानमा प्रतियोगिता संचालन गरिने समितिका खेल सम्योजक युवराज खड्काले जानकारी गराएका छन। पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै खड्काले नेपालका साथै छिमेकी मित्र राष्ट्र भारतका टिम समेत सहभागी हुने बताएका थिए। महिला फुटबल प्रतियोगितामा भारतका दुई टिम सहभागी हुने बिस्वास ब्यक्त गरेका थिए। नेपाल तथा भारतका टिम सहित ८ देखि १२ टिम सम्म सहभागी हुने सम्योजक खड्काले बताएका थिए।
खेल सम्पन्न गर्न करिब १४ लाख खर्च हुने अनुमान गरिएको स्पर्श क्लबका अध्यक्ष उज्ज्वल दाहालले जानकारी गराएका थिए। आर्थिक संकलनका लागि स्थानीय सरकारका साथै देश तथा बिदेशमा रहने सबैबाट सहयोग हुने बिस्वास ब्यक्त गरेका थिए। गौरादहको गर्व, महिला फुटबलको पर्व, लागू औषध मुक्त समाज हाम्रो संकल्प भन्ने मुल नाराका साथ महिला फुटबल संचालन गर्न लागिएको समितिका उपाध्यक्ष ईन्द्र मणि गौतमले जानकारी गराएका थिए। हालसम्म गौरादहमा महिला फुटबल प्रतियोगिता संचालन नभएकाले यसप्रकारको खेल आयोजना गर्न लागिएको सचिब संजिब तामाङले जानकारी गराएका थिए।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले ५५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई २ हजार ५०० रुपैयाँ प्रदान गरिनेछ भने उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डसहित अन्य ६ विधाका विजेतालाई जनही ५ हजार ५५५ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।






