Online Bichar
शुक्रबार, आषाढ १९, २०८३ | Friday, July 3, 2026

काठमाडौं, १९ असार २०८३ । युनाइटेड अरब इमिरेट्स (यूएई) मा ३० मिलियन दिराम (एक अर्ब २३ करोड रुपैयाँ) को चिठ्ठा प्राप्त गरेका पाँच नेपाली युवाले उक्त रकम नेपाल पठाउन सहयोग मागेका छन् ।

उनीहरूले बिहीबार यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीलाई भेटी रकम वैधानिक तरिकाले नेपाल पठाउन सहयोग मागेका हुन् ।

भाग्यशाली चिठ्ठा प्राप्त गर्ने पाँचजना तैयव खान (गोरखा), सन्दीप बिक (पाल्पा), युवराज गैरे (नवलपुर), शिशिर पौडेल (कास्की) र सुदीप न्यौपाने (रुपन्देही) बिहीबार यूएईको अबुधावीस्थित नेपाली दूतावास पुगेका थिए ।

‘द यूएई लोट्ट्री’ मार्फत उनीहरूले ३० मिलियन दिरामको चिठ्ठा प्राप्त गरेका थिए ।

राजदूतसँगको भेटघाटमा उनीहरूले चिठ्ठामार्फत प्राप्त रकमलाई वैधानिक रूपमा नेपाल पठाउन र सो रकमलाई नेपालमा लगानी गर्न इच्छुक रहेको बताएको अबुधावीस्थि नेपाली दूतावासले जनाएको छ ।

“उहाँहरूले उक्त रकमलाई वैधानिक रूपमा नेपाल भित्राउन दूतावासमार्फत गर्नुपर्ने आवश्यक सहयोग प्रदान हुन तथा नेपाल सरकारद्वारा सहजीकरण गरिदिन आग्रह गर्नुभयो,” दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भेटघाटमा राजदूत क्षेत्रीले उनीहरूलाई लगानीका विभिन्न सम्भाव्यताहरूको अध्ययन गरी नेपालको विकास र समृद्धिका क्षेत्रमा लगानी गर्न सुझाव दिएका थिए । चिठ्ठामार्फत भएको रकमलाई वैधानिक रूपमा नेपाल पठाउन राजदूतावासको पूर्ण सहयोग रहने राजदूत क्षेत्रीले बताएका थिए ।

तपाईको प्रतिक्रिया