काठमाडौं, १९ असार २०८३ । स्वास्थ्य बिमा बोर्डले चालु आर्थिक वर्षको विभिन्न मितिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कुल २३ अर्ब ४४ करोड दुई लाख ९८ हजार १७६ रुपैयाँ भुक्तानी गरेको छ ।
बोर्डले आज (शुक्रबार) प्रेस विज्ञप्ति जारी गर्दै उक्त भुक्तानीसँगै २०८२ साल मंसिर मसान्तसम्म बोर्डमा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको दाबी बक्यौता फरफारक भएको जानकारी दिएको हो ।
२०८२ मंसिरपछिका दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चितताका लागि सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय र पहल भइरहेको बोर्डले जनाएको छ ।
बोर्डले सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई बिमित सेवाग्राहीहरूको उपचार सेवामा कुनै पनि प्रकारको अवरोध वा कठिनाइ सिर्जना नगरी निर्धारित मापदण्ड बमोजिम गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराइदिन आग्रह गरेको छ ।
स्वास्थ्य बिमा कार्यक्रमको दिगोपना र प्रभावकारिता कायम राख्न सम्पूर्ण बिमित सेवाग्राहीहरूलाई बिमा सेवाको जिम्मेवार र सदुपयोग गर्न, अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न र चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आवश्यकताभन्दा बढी परीक्षण वा उपचारका लागि दबाब नदिन समेत बोर्डले अपिल गरेको छ ।






