काठमाडौँ, १९ असार २०८३ । तीन वर्ष पूरा भएका शिक्षकको अबदेखि एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा सरुवा हुने भएको छ।
मन्त्रिपरिषद् बैठकबाट बिहीबार पारित शिक्षा नियमावली १० औँ संशोधन अनुसार तीन वर्ष पूरा भएका शिक्षकको सरुवा एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा हुने भएको हो।
यद्यपि अपाङ्ग, अरूको सहायतामा हिँडडुल गर्नुपर्ने अशक्त, गर्भवती र दुई वर्षभन्दा कम उमेरको बच्चा भएको महिला शिक्षिकाको हकमा भने यो नियम लागू नहुने नियमावलीमा उल्लेख छ।
रिक्त शिक्षक पदमा सरुवा भई आउन चाहने सम्बन्धित तह र विषयका इच्छुक स्थायी शिक्षकले आफू कार्यरत विद्यालयको विद्यालय व्यवस्थापन समिति र सम्बन्धित स्थानीय तहको सहमति सहित विद्युतीय माध्यम वा स्वयम् आफै उपस्थित भई सम्बन्धित विद्यालयमा निवेदन दिन सक्ने प्रावधान समावेश छ।
निवेदन पेस गर्दा आफ्नो सेवा अवधि खुल्ने कागजात, शैक्षिक योग्यता र तालिमका प्रमाणपत्र, हाल कार्यरत विद्यालय र स्थानीय तहमा हालको पदमा सुरु हाजिरी भएको कागजात, आफ्नो स्थायी तथा अस्थायी नियुक्ति पत्रको प्रतिलिपि र असाधारण तथा बेतलबी बिदा लिए नलिएको सम्बन्धी कागजात, कार्यरत विद्यालयको सहमति पत्र, स्थानीय तहको सहमति पत्र संलग्न गर्नु पर्ने भनिएको छ।
तोकिएको समयावधिभित्र रीतपूर्वक प्राप्त हुन आएका निवेदन विद्यालयमा दर्ता गरी सम्बन्धित व्यक्तिलाई दर्ताको जानकारी दिई सोको विवरण सार्वजनिक गर्नुपर्ने भनिएको छ।
स्थायी शिक्षक आकस्मिक घटना वा आपतकालीन अवस्थामा परेकोले त्यसता शिक्षकको जीवनलाई जोखिममुक्त गर्नुपर्ने भएको वा सरकारले निर्धारण गरे बमोजिमको घातक वा कडा रोग लागेको, गम्भीर शारीरिक अशक्तता भई सोको उपचार गर्नुपर्ने भनी सरकारद्वारा गठित मेडिकल बोर्डले सिफारिस गरेकालाई विशेष अवस्था भनिएको छ।






