Online Bichar
आइतबार, आश्विन १८, २०८३ | Sunday, October 4, 2026

काठमाडौं, १८ असोज २०८३ । प्रहरीले बालिका अपहरणमा संलग्न युवालाई गोली हानेर नियन्त्रणमा लिएको छ । शनिबार राति रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० का २७ वर्षीय विशाल भनिने युवराज थारुलाई इलाका प्रहरी कार्यालय बुटवलको टोलीले गोली हानेर नियन्त्रणमा लिएको हो ।

उनको अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालयका बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तले बालिका अपहरणमा संलग्न विशाललाई पक्राउ गर्न खोज्दा घरेलु हतियार देखाउँदै भाग्न खोजेपछि प्रहरीले गोली हानेर नियन्त्रणमा लिनुपरेको बताए ।

डीएसपी निशान्तका अनुसार विशालले असोज १६ गतेको बिहान साढे दुई बजे नै १० वर्षीया बालिकालाई घरबाट अपहरण गरेका थिए ।

सुतिराखेकै बेला रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ का ति बालिकालाई अपहरण गरेर जंगलमा पुर्‍याएका थिए । प्रहरीले त्यसलगत्तै अपहरणमा परेकी बालिकाको खोजी तीव्र पारेको थियो । बालिकालाई भने प्रहरीले राति नै जंगलबाट उद्धार गरेको थियो ।

‘‘घरमा हजुरबुबा र हजुरआमा एउटा कोठामा बस्ने र बालिका अर्को कोठामा बस्ने गरेका थिए । तर, राति कोठाभित्र नै पसेर बालिकालाई अपहरण गरेर जंगल पुर्‍याइएको पाइएको छ,” डीएसपी निशान्त भन्छन्,‘‘हामीले १६ गते बिहानबाट नै खोजी गरेर बालिकाको उद्धार र अपहरणमा संलग्न युवाबारे अनुसन्धान गरेका थियौँ । अनुसन्धानबाट विशालको संलग्नता देखिएको थियो । आज उनलाई पक्राउ गर्न सफल भएका हौँ ।’’

अपहरणमा परेका बालिकाको घर सामान्य पर्खालरहितको भएका कारण सजिलै कोठाभित्र प्रवेश गरेको खुलेको उनको भनाइ छ ।

किन गरेका थिए अपहरण 

बालिका अपहरण गरेर विशालले परिवारसित भने फिरौती रकम मागेका थिइनन् । तर, राति नै बालिकाको हजुरबुबाले जाडो भयो होला भनेर ब्ल्याङकेट ओढाउन जाँदा नदेखेपछि आत्तिएको प्रहरीले बताएको छ ।

उनले छिमेकीको सहारा माग्दै खेत र पोखरीतिर खोजी थाले । तर, बालिका कहीँ भेटिइनन् ।

छिमेकीले प्रहरीलाई खोजीका लागि आग्रह गर्‍यो । बालिका नै अपहरणमा परेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटबल, जिल्ला प्रहरी कार्यालय रुपन्देही र प्रदेश प्रहरी कार्यालय लुम्बिनीको प्राविधिक टोलीसमेत सक्रिय भयो । प्रहरीको टोलीले बालिकालाई जंगलमा फेला पारेको थियो ।

प्रहरीको अनुसन्धानका क्रममा विशाल बालिकामाथि यौन दुर्व्यवहार गरेको खुलेको छ ।

प्रहरीले बालिकाको स्वस्थ्य परीक्षण गरेको थियो । तर, बालिका बलात्कृत भने भएको पाइएको छैन ।

बालिकाको प्रहरीलाई दिएको हुलिया तथा शंकास्पद व्याक्तिमाथिको खोजीका क्रममा विशालको भूमिका शंकास्पद देखिएको थियो ।

उनको निरन्तर खोजी पछि भने शनिबार राति धानखेतमा लुकेको अवस्थामा फेला पारेको थियो । सोही क्रममा उनलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो ।

सधैँ जंगलमा बस्छन् विशाल 

प्रहरीको अनुसन्धानका क्रममा विशाल विभिन्न अपराधका घटनामा संलग्न युवा रहेको खुलेको छ ।

चोरी तथा छिमेकी महिलाहरुलाई देखेपछि उनी अस्वाभाविक हर्कत गर्ने गरेका थिए । कतिपटक छिमेकी महिलाहरुलाई लखेटेकोसमेत खुलेको छ ।

उनको स्वभावका कारण परिवारपनि रुष्ट थिए । उनी परिवारका लागि समेत खतरा बन्दै गएको खुलेको छ । राति प्रायःजसो जंगलमा नै गएर बस्ने पनि प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

तपाईको प्रतिक्रिया