काठमाडौँ, १९ असार २०८३ । पछिल्लो अद्यावधिक रिपोर्ट अनुसार एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको महामारीजन्य रोग नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का अनुसार गत पुस १७ देखि हालसम्म एक हजार ४२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।
यो ६ महिनाको अवधिमा डेंगु सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । इडीसीडीका अनुसार हालसम्म ७१ जिल्लामा डेंगु सङ्क्रमण देखिएको छ । झापा, सुनसरी, कास्की, चितवन, काठमाडौँ, ओखलढुंगा, मकवानपुर, पाल्पा, चितवन सहितका जिल्लामा डेंगुका बिरामी देखिएका छन् ।
कुल सङ्क्रमित सङ्ख्यामध्ये सबैभन्दा धेरै कोशी प्रदेशमा २९२ जना र बागमती प्रदेशमा २६४ जना भेटिएका छन् । यस्तै मधेस प्रदेशमा ५२ जना, गण्डकी प्रदेशमा १६१ जना, लुम्बिनी प्रदेशमा १६७ जना, कर्णाली प्रदेशमा ३७ जना र सुदूरपश्चिम प्रदेशमा ६९ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
जिल्लागत रूपमा हेर्दा झापा १३८ केससहित सबैभन्दा बढी प्रभावित बनेको छ भने काठमाडौँमा ६१, सुनसरीमा ५७, मकवानपुर र रूपन्देहीमा ५०, कास्कीमा ४४, ओखलढुङ्गा र चितवनमा ३९, पाल्पामा ३४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
इडीसीडीका एक अधिकारीले भने, ‘डेंगुको लक्षण सामान्य देखियो भने पारासिटामोल, झोलिलो खानेकुरा खाएपछि निको हुन्छ । कडा लक्षण देखियो भने उपचारका लागि स्वास्थ्य संस्था पुग्नुपर्छ ।’
उनका अनुसार अत्यधिक पेट दुखाई, रक्तश्राव, बेहोस हुनु डेंगुका कडा लक्षण हुन् । स्वास्थ्य वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/०८२ मा नेपालभर ५४ हजार ३५० जना डेंगुबाट संक्रमित भएका थिए । २०८०/०८१ मा ४८ हजार ८८३ जना र त्यसअघिको वर्ष २०७९/०८० मा ५६ हजार ३३८ जना सङ्क्रमित भएका थिए, जसले डेंगु सङ्क्रमणको सङ्ख्या वर्षैपिच्छे उतारचढाव भइरहेको देखाउँछ ।
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा।अनुज भट्टचनले डेंगु नियन्त्रणका लागि पूर्वतयारीमा जोड दिइएको बताए । उनले भने, ‘किटजन्य रोगका रूपमा रहेको डेंगु नियन्त्रणका लागि नजिकबाट नियालिरहेका छौँ । खोज र नष्ट गर अभियानमा विद्यार्थी, सुरक्षाकर्मी, निजी क्षेत्र लगायतलाई परिचालन गर्ने योजनामा छौँ । जिल्ला स्वास्थ्य कार्यालय, पालिकाले पनि सचेतनामूलक कार्यक्रम गर्दै आउनुभएको छ ।’
सरकार के गर्दैछ ?
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका लागि सरकारले आगामी आर्थिक वर्षमा ३० करोड १६ लाख रुपैयाँ बजेट छुट्ट्याएको छ । आगामी आर्थिक वर्षमा स्थानीय तहहरूमा डेंगु सङ्क्रमण फैलाउने लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने अर्थात् ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
साथै, जिल्लास्तरमा स्थानीय तहसँग समन्वय कायम गर्न प्रत्येक जिल्लाका लागि थप ५० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था मिलाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । लामखुट्टे नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियानलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्ने र व्यक्ति स्वयं पनि सजग र सचेत हुनुपर्ने सङ्क्रामक रोग विशेषज्ञ बताउँछन् ।रातोपाटीबाट






