Online Bichar
बुधबार, आषाढ ०३, २०८३ | Wednesday, June 17, 2026

झापा, ३ असार २०८३ । झापाको दमकमा टिपरको ठक्करबाट स्कुटी चालकको मृत्यु भएको छ। बुधबार (आज) बिहान करिब ९ः५५ बजे दमक नगरपालिका–९ स्थित निम्स अस्पताल अगाडि पूर्व–पश्चिम राजमार्गमा दमकबाट उर्लाबारीतर्फ जाँदै गरेको प्र।१–०२–००१ क ४२८५ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको मे ११ प १६२० नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो।

दुर्घटनामा स्कुटी चालक दमक नगरपालिका–५ निवासी ६० वर्षीय भीमबहादुर कार्की गम्भीर घाइते भएका थिए। उनको टाउको र दाहिने हातमा चोट लागेको तथा नाक र कानबाट रगत बगेको अवस्थामा उपचारका लागि दमक अस्पताल लगिएको थियो। उपचारकै क्रममा बिहान १०ः१० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

स्कुटीको पछाडि सवार गौरीगञ्ज गाउँपालिका–१ निवासी ६४ वर्षीय शेरबहादुर कार्की भने सकुशल रहेका प्रहरीले जनाएको छ।

दुर्घटनापछि टिपर र चालक फरार भएका थिए। प्रहरीले खोजतलास गर्ने क्रममा दिउँसो करिब १२ः३० बजे दुर्घटनामा संलग्न प्र.१–०२–००१ क ४२८५ नम्बरको टिपर र चालक गौरादह नगरपालिका–९ बैगुनधुरा निवासी २९ वर्षीय दीपक प्रधानलाई फेला पारी नियन्त्रणमा लिएको छ।

घटनाबारे इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया